काठमाडौं ,असोज ५ । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज औपचारिक वार्ता हुँदै छ । वार्ता बिहान नौ बजे सुरु गर्ने तयारी छ ।
यसअघि बिहीबार बिहान र बेलुका दुई चरणमा अनौपचारिक छलफल भएको थियो । बिहानको छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री अशोक कुमार राई र शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी थिए ।
बिहीबार बेलुका फेरि गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री राईका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री डा। प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ सहित ती मन्त्रालयका सचिवहरुसहित शिक्षकका प्रतिनिधिहरुसँग छलफल भएको थियो ।
साँझ ७ बजेदेखि सुरु भएको छलफल बेलुका साढे ९ बजेसम्म चलेको थियो । सो छलफलमा शिक्षकका प्रतिनिधिहरुले १७ बुँदे माग प्रस्तुत गरेका थिए । मन्त्रीहरुले कतिपय माग संविधान संशोधन गर्नुपर्ने खालका रहेकाले उक्त मागमा सहमति हुन नसक्ने बताएका थिए ।
शिक्षकहरुसँगको छलफलपछि सञ्चारमन्त्री रेखा शर्माले शिक्षकहरुले राखेका कतिपय माग संविधान संशोधन गर्नुपर्ने अवस्थाका र कतिपय माग ऐनरनियमावली संशोधन गरेर गर्न सकिने खालका भएको बताइन् ।
ऐनरनियमावली संशोधन गर्ने कुरा संसदबाट सम्बोधन हुनसक्ने भए पनि विद्यालय शिक्षा स्थानीय तह मातहतमा राख्न हुन्न भन्ने माग संविधानसँग जोडिएकाले उक्त विषयमा समीक्षा मात्र गर्न सकिने तर सहमति नहुने बताइन् ।उनले आजको औपचारिक वार्ताबाट सहमतिमा पुग्न प्रयास हुने र सहमति हुनेरनहुने विषय शिक्षक प्रतिनिधिहरूमा निर्भर हुने उनले बताइन् ।
नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले आफूहरुका मागका विषयमा मन्त्री र सचिवहरुले आन्तरिक तयारी गरेर आउने भनेकाले आज फेरि छलफल हुने बताइन् ।