तुलसीपुर, साउन १९ । राप्ती बाल एकेडेमी तुलसीपुरले आफ्ना वालवालिकाहरुलाई योग र ध्यान सिकाउन सुरु गरेको छ ।
योग र ध्यानले वालवालिकाहरुको स्वास्थ्य राम्रो हुनुका साथै स्मरण शक्ति समेत बढ्ने हुँदा सिकाउन थालेको विद्यालयले जनाएको छ ।
कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी हुने २ दिने वैदिक योग तथा मोटिभेसन कार्यक्रमको विहीबार उद्घाटन गरिएको छ ।
विद्यालयका प्रिन्सिपल ठाकुर प्रसाद डाँगीको अध्यक्षता तथा एनप्याव्सन दाङका अध्यक्ष विमल गौतमको प्रमुख आतित्थ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले योग र ध्यानले वालवालिकाहरुमा पढाइप्रतिको रुचि बढ्ने बताएका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि गौतमले योग र ध्यानले वालवालिकाहरुलाई नैतिक र चरित्रवान् बन्न मद्दत पुग्ने बताए ।
उनले यस्ता कार्यक्रमहरु समय समयमा सबै विद्यालयहरुले गर्नु पर्नेमा जोड दिए । ‘पछिल्लो समय वालवालिकाहरुले अनुसासन, संस्कार र नैतिकता भुल्दै गएका छन, यस्ता कार्यक्रमले उनीहरुलाई सोच्न बाध्य पार्छ’ गौतमले भने।
उद्घाटन कार्यक्रममा शिक्षा महाशाखा तुलसीपुरका अधिकृत मनबहादुर खड्का, राप्ती बाल एकेडेमी संचालक समितिका अध्यक्ष राजेन्द्र पाण्डे, एनप्याव्सन तुलसीपुर नगर अध्यक्ष शालिकराम कार्की लगायतले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए ।