२०८३ जेष्ठ १६ गते शनिवार

सोचका कारण महिलामा प्रजनन् स्वास्थ्य समस्या बढ्दो

तुलसीपुर,जेठ १४ । ओरेकका संस्थापक अध्यक्ष,अधिकारकर्मी डा. रेणु अधिकारीले प्रजनन स्वास्थ्य समस्या देखिनुमा सवैभन्दा ठूलो दोष मानिसको सोच नै रहेको बताएकी छन् ।


अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको अबसरमा आइतबार तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जबसम्म व्यक्तिको सोच परिवर्तन हुन सक्दैन तबसम्म समाज रुपान्तरण हुन नसक्ने तर्क गरिन ।

नेपालको संविधानले स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा सुनिश्चित गरेतापनि पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढीरहेको हुँदा त्यसको अवस्था विकराल स्थितिमा रहेको उनले बताइन ।

महिलालाई आफ्नो प्रजनन् अंगको कार्य,सुरक्षित यौन सम्बन्ध र यौन आनन्द, परिवार नियोजनको साधनबारे सहि सूचना र ज्ञान नहुँदा आफ्नै शरिर र अधिकारबारे जानकारी नभएको डा. अधिकारीले बताइन ।

तथ्याङ्क अनुसार महिलामाथि सामाजिक रूपमा भएका हिंसामा बढी मात्रामा २९ प्रतिशत (६९ जना) बालिकाहरूको विवाह कम उमेरमा भएको पाइएको ओरेक दाङका कार्यक्रम अधिकृत पुजा चौधरीले बताइन । उनका अनुसार ओरेकको सुरक्षावासमा जुलाईदेखि डिसेम्वर २०२२ मा आएका हिंसा प्रभावितहरु मध्ये २० वटा घटना बाल गर्भाबस्थाको थिए ।


ओरेकले सन् २०२१ मा गरेको सर्वेमा प्रत्येक १ घण्टामा ५ जना भन्दा बढी महिला वा किशोरी आफ्नै परिवारको सदस्यबाट मारिएको तथ्य फेला परेको थियो । मारिएका मध्ये यौन हिंसामा ५०% घटनाहरू बलात्कारका थिए । ति मध्ये सबैभन्दा बढी संख्या १८ वर्षभन्दा कम उमेर समूहका (४०%) प्रभावित थिए । त्यसैगरी ८९ प्रतिशत पीडक चिनजानका थिए । त्यस्तै ओरेकमा आर्थिक वर्ष २०७८÷७९ मा १०९ वटा बलात्कार, १४ वटा सामूहिक बलात्कार, ३४ वटा बलात्कार प्रयास र २२ वटा वैवाहिक बलात्कारको घटनाहरु दर्ता भएका थिए ।

वल्र्ड बैंकको एक तथ्याङ्कं अनुसार नेपालमा प्रत्येक एक हजार जना किशोरीमा ६३ जनाले १५ देखि १९ बर्षको उमेरभित्र बच्चा जन्माउने गरेको पाइएको छ । तथ्याङ्क अनुसार पाठेघरको क्यान्सर भएका २ हजार ९ सय ४२ नया घटनाहरु भएका छन । त्यस मध्ये १ हजार ९ सय २८ मृत्यु भएको छ । पठेघर खस्ने समस्या १० देखि ४० प्रतिशत सम्म छ भने मातृमृत्युदरको संख्या ६ सय ५३ छ ।

दाङ जिल्लामा वितेको बर्ष १ सय १४ किशोरीले सुरक्षित गर्भपतन,१ सय ६२ जनाले स्वास्थ्य जाँच गराएको तथ्याङ्क प्रस्तुत गरिएको थियो । ओरेक दाङले १० वटा स्वास्थ्य केन्द्रबाट संकलन गरेको गरिएको तथ्याङ्क हेर्दा ४ सय ७८ जनामा यौन तथा प्रजनन् स्वास्थ्य समस्या रहेको पाइएको छ ।

कार्यक्रममा महिला अधिकारकर्मी लक्ष्मी आचार्यले सोच परिवर्तनको कार्यक्रमलाई प्रभाबकारी बनाउनुपर्नेमा जोड दिइन । उनले लुम्बिनी प्रदेशमा गतवर्ष मात्र ४ हजार एक सय जना घरमा सुत्केरी भएको र त्यसमध्ये १४ जनाको बाटोमै मृत्यु भएको बताइन । जनतासग पुगेर आधारभुत काम गर्न नसकिरहेको अबस्थामा यस्ता घटनाहरु न्युनिकरण हुनुको साटो दिनानुदिन बढ्दै गएको प्रति चिन्ता जाहेर गरिन ।


यौन तथा प्रजनन् अधिकार व्यक्तिको मानव अधिकार हो । नेपालको संविधानमा यौन तथा प्रजनन्स्वास्थ्य अधिकारलाई मौलिक हकको रुपमा राखिएको छ ।

कुनैपनि व्यक्तिले पूर्ण यौन तथा प्रजनन् स्वास्थ्य अधिकार प्राप्तीका लागि जीवनमा सबै प्रकारको विभेदबाट मुक्त भई आफ्नो शरीरका सम्बन्धमा स्वः निर्णय गर्न सक्ने अबस्था हुनपर्दछ ।

तर विश्वमा महिला मानव अधिकार विशेष गरेर यौन तथा प्रजनन स्वास्थ्य अधिकारको अवस्था सोचेअनुरुप छैन । नेपालमा कानुन बनेपनि त्यसको कार्यान्वयन अभावमा महिलाहरुले अझै हिंसा सहन बाध्य छन् । महिला तथा किशोरीको न्यायको लागि र यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित गर्न संसार भरकै अधिकारर्मीले आफ्नो आवाज बलियो बनाउन मे २८ लाई अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको रुपमा मनाउदै आईरहेका छन् ।

यो वर्ष पनि ‘हाम्रो आवाज, हाम्रो कार्य, हाम्रो माग ः अब महिला स्वास्थ्य र अधिकारको समर्थन गर्नुहोस’ भन्ने नाराको साथ यो दिवस देशैभर मनाइएको छ । दिवसको अवसरमा दाङको तुलसीपुरमा पनि ओरेक दाङको आयोजना तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा र जनचेतना महिला सामुदायिक सस्था तुलसीपुरको सहकार्यमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक बिमल केसी,तुलसीपुर उपमहानगरपालिकाका प्रसासन शाखा प्रमुख बिस्नु आचार्य, जनस्वास्थ्य शाखाका बिस्णु गिरि,जनस्वास्थ्य पर्बधन शाखाका अहेब राधिका गौतमले नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कानुन भएपनि त्यसको कार्यान्वयन अभावमा थुप्रै महिलाहरुले प्रजनन समस्या भोग्नुपरेको बताएका थिए ।

त्यस्तै हेकुली स्वास्थ चौकीका जनस्वास्थ्य निरीक्षक प्रलाद चौधरी, धनौरी स्वास्थ्य चौकीका राजकुमार न्यौपाने, बागमारे स्वास्थ्य चौकिका इच्छा मगर, उरहरी स्वास्थ्य चौकीका चित्र वलि लगाएतले वर्षेनी विभिन्न किसिमका सचेतनामुलक स्वास्थ्य शिक्षा प्रदान गरिरहे पनि बालबिबाह र लैगिक हिंसालाई घटाउन नसकिरहेको भन्दै किशोर–किशोरी मैत्री सरचना निर्माण हुन बनाउनुपर्नेमा जोड दिए ।


कार्यक्रमको सहजीकरण ओरेक दाङका कल्पना चौधरीले गरेकी थिइन ।

प्रकाशित मिति : २०८० जेष्ठ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *