कपिलबस्तु,जेठ ११ । कपिलवस्तुका जनप्रतिनिधिहरुले नगरमा भएको अन्धोपन न्यूनिकरणका लागि साझेदारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनीहरुले उज्यालो अभियानलाई सार्थकता दिन सवै किसीमका सहयोग गर्ने समेत बताए ।
नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज छन्द कालेबाबु नारायणी आँखा अस्पतालको आयोजनामा बहादुरगञ्जमा आयोजना गरेको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ विषयक छलफल कार्यक्रममा मानवीय सेवाको सबैभन्दा महत्वपूर्ण सेवा भनेकै आँखा उपचार सेवा भएको भन्दै सहभागी जनप्रतिनिधिहरुले आँखा उपचार सेवामा स्थानीय तह, संघसंस्थालगायतको समन्वय र साझेदारी आवश्यक रहेको बताएका थिए
उनीहरुले कृष्णनगर नगरपालिकामा रहेको अन्धोपन न्यूनीकरण गर्दै अस्पताललाई साधन स्रोत युक्त गराउन सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका उपप्रमुख आरती देवी चौधरीले पालिकामा रहेको अन्धोपन न्यूनिकरण गर्न साझेदारी गर्ने बताइन् ।
“ यो अस्पताल भनेको सवैको साझा हो यसको विकास गर्नु हामी सवैको दायित्वहो, उनले भनिन् ।
उपप्रमुख चौधरीले आँखा अस्पताल आफुहरुको गहना भएको भन्दै आफुहरुबाट हुने सवै सहयोग हुने बताइन् ।
कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले लुम्बिनी प्रदेशमा क्रमशः कपिलवस्तुमा आँखाका १४ हजार ८ सय ७१, मोतियाबिन्दुका बिरामी रहेको भन्दै त्यसमा कृष्णनगर नगरपालिकाका १२ वटा वडामा आँखाका १ हजार ३ सय ६८ जना मोतियाविन्दुका विरामीहरु रहेको बताए ।
उनले त्यसको न्युनिकरण साझेदारी आवश्यक रहेको बताए । कार्यक्रममा प्रमुख प्रशासक थापाले हाल सम्म कृष्णनगर नगरपालिकाले सञ्चालन गरेको साझेदारी कार्यक्रम, भावि योजना र आगामी आर्थिक बर्षमा हुने साझेदारी कार्यक्रम बारेमा जानकारी गराएका थिए ।
छन्द कालेबाबु नारायणी आँखा अस्पतालको रणनितिक कार्ययोजना समेत प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष हरिपाल चतुर्वेदी, वडा नंं. ५ का अध्यक्ष मोहम्मद जमिल खाँ, वडा नं. ९ का अध्यक्ष सतीश कुमार हरिजन, प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्मालगायतले स्वास्थ्यका दृष्टिले आँखा उपचार सेवा महत्वपूर्ण भएको पालिकासँगै नेत्रज्योति संघकाबीचमा सहकार्य र सम्झौता हुन बताएका थिए ।
सहभागीहरुले नेपाल तथा भारतका समेतले सेवालिने यस अस्पतालको सेवालाई वृद्धि गर्नुपर्ने समेत बताएका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका कार्यसमिति सदस्य घनश्याम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकिय अधिकृत जसराज विश्वकर्माले हाल सम्म अस्पतालले दिएका सेवा र साझेदारी कार्यक्रमको बारेका सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।
