तुलसीपुर, बैशाख १४ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्रीगाउँका स्थायी बासिन्दा ५४ बर्षीय डिल्लीबहादुर चौधरी बैशाख १४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री बनेका छन् ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेतासमेत रहेका चौधरी प्रदेशको चौथो मुख्यमन्त्री बन्न सफल भएका छन् ।
चौधरीलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक अन्य सबै दलहरुका ५३ सांसदको साथ समर्थन थियो । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतका आधारमा दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट २०७९ मंसिर ४ गतेको निर्वाचन मार्फत निर्वाचित सांसद चौधरीलाई मुख्यमन्त्रीमा चयन गरेका हुन ।
प्रदेशसभाको बहुमत सांसदको हस्ताक्षरसहित आँफुलाई मुख्यमन्त्री बनाउन माग गर्दै चौधरीले बिहीबार दिउँसो मात्रै दाबी पेश गरेका थिए । ५४ बर्षीय मुख्यमन्त्री चौधरीको बिगत समाजसेवा संग जोडिएको थियो । भर्भराउँदो उमेरमा उनी समाजसेवामा लागेका थिए । २०४७ सालमा ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) नामक गैर सरकारी संस्था खोलेर उनी पछाडि पारिएको वर्ग थारु, दलित र गरिबका लागि निशुल्क रात्रि शिक्षा लिएर जिल्लाका गाउँ बस्तिसम्म पुगेका पात्र हुन ।
दाङ पछि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगाएतका जिल्लाहरुमा रात्रिकालिन शिक्षा मार्फत उनले शिक्षाको ज्योति फैलाउँदै सर्वसाधारणमा चेतानाको ज्योति छरेका थिए । सामाजिक नेताका रुपमा स्थापित चौधरी पहिलो पटक २०६४ सालमा दाङको निर्वाचन क्षेत्र नं. ४ मा संसदीय निर्वाचन लडेका थिए ।
काँग्रेस भित्र बर्षौं मेहनत गरेका पाका नेतालाई पंछाउँदै उनले टिकट पाएका थिए । त्यसको प्रमुख कारण उनी पार्टी सभापति शेरबहादुर देउवाको विश्वास पत्र भएकै कारण थियो । नेकपा माओबादीको बैंशको समय परेका कारण उतिखेर उनी पराजित भएका थिए । त्यतिखेर जिल्लाका पाँचै निर्वाचन क्षेत्र माओबादीले जितेको थियो ।
को हुन डिल्लीबहादुर चौधरी र उनी कसरी राजनीतिमा छाउन सफल भए ?
चौधरीको पृष्ठभूमी
कुनै वेला डिल्लीबहादुर चौधरीको परिवार जमिन्दारको घरमा कमैया बसेको थियो । पढाइ लेखाइ उनको समुदायमा आशाको मिठो फल जस्तो मात्रै थियो । चेतनाको अभावले चौधरी समुदाय आफ्ना बालबालिकालाई बिद्यालय पठाउनु भन्दापनि घर धन्दाका काममा लगाउँथे ।
उनै चौधरी यतिखेर प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन् । यसअघि उनी लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रीको रुपमा प्रदेश सरकारका डेढ वर्ष काम गरेका चौधरी यस वर्षको निर्वाचनबाट मुख्यमन्त्रीको लाईनमा पुगेका हुन ।
२०४२ सालदेखि राजनीति र सामानिक सेवामा सक्रिय चौधरी भारी मतान्तर सहित यस पटक दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेश समा सदस्यका लागि दोस्रो पटक निर्वाचित भएका हुन । उनी २०६४ सालमा भने पराजित भएका थिए । दाङको तत्कालिन निर्वाचन क्षेत्र नं. ४ बाट उनी पराजित हुँदा जिल्लाका पाँचै क्षेत्र तत्कालिन नेकपा माओबादीले क्लिनस्वीप गरेको थियो ।
कमैया मुक्ति आन्दोलन र थारु समुदायमा शिक्षाको दियो वाल्ने उनी वाल अधिकारको क्षेत्रमा पनि क्रियाशिल थिए । कुनै बेला उनी भारतका वालवचाओ अभियानका कैलास सत्यार्थीसंगको सम्वन्धका कारण वालवालिकाको शिक्षाका क्षेत्रमा सक्रिय थिए ।
१७ वर्षको कलिलो उमेरमा नै मुख्यमन्त्री चौधरीले नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपमा विपन्न तथा पिछडिएका जनताको उत्थानको लागि संगठन बनाएर आफ्नो जीवनकालको महत्वपूर्ण कामको सुरुवात गरेका थिए । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतका साथै विविध पक्षले बञ्चितिकरणमा परेका आदिवासी थारु र पछाडि पारिएको अन्य समुदायमा केन्द्रित रहेर सामाजिक क्षेत्रमा काम अगाडि बढाउँदा बढाउँदै उनी समुदायको नेता बन्न सफल भएका थिए ।
राजनीतिक परिवर्तन, पिछडिएका समुदायको सशक्तिकरणमा जुटेका चौधरीलाई तत्कालिन निरंकुश पञ्चायत शासन ब्यवस्थाले देशद्रोही भएको आरोप लगाउदै प्रहरी हिरातमा पटक ÷ पटक राखेको थियो ।
पुरस्कार र सम्मानहरु
डिल्लीबहादुर चौधरीको कामको राष्ट्रिय तथा अन्तिराष्ट्रिय मान्यतामा निम्न पुरस्कारहरु समावेश छन् । उनले अशोका फेलोशिस अवार्ड, संयुक्त राज्य अमेरिका (१९९२), रिवोक अन्तराष्ट्रिय मानवअधिकार पुरस्कार, संयुक्त राज्य अमेरिका (१९९४) सो पुरस्कार अमेरिकी भूतपूर्व राष्ट्रिपती जिमी कार्टरबाट प्राप्त गरेका छन् ।
द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड, यूके (२००२) दासता विरुद्ध काम गरेवाफत प्राप्त गरेका थिए । नेपाल सरकारबाट सुप्रवल गोर्खा दक्षिण बाहु तेस्रो (१९९४) र सुप्रबल गोर्खा दक्षिण बाहु त्रिशक्ति पट्ट (२००४) बाट उनी पुरस्कृत तथा सम्मानित भएका थिए । चौधरी दिल्लीका तत्कालीन मुख्यमन्त्रीबाट प्राप्त पुरस्कृत हुने सामाजिक अभियान्तापनि हुन । जस्ले राम कृष्ण जयदयाल हार्मनी अवार्ड, भारत (२००३) प्राप्त गरेका थिए ।
राजनीतिक यात्रा
२०७९ मंसिर ४ गतेको निर्वाचनबाट उनी दाङ निर्वाचन क्षेत्र नं ३ ( १) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन । २०७४ सालमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । जिल्लाका सबै क्षेत्रमा काँग्रेस पराजित हुँदापनि उनले एक्लै जितेर पार्टीको शाख जोगाएका थिए । त्यतिखेर साबिक राप्ती अंचलका पाँच जिल्लामा काँग्रेसबाट निर्वाचित हुने उनी एक्ला बक्ति थिए । २०७०—०७४ को अबधिमा उनी संविधानसभा सदस्य थिए । सोही समयमा उनी श्रमराज्य मन्त्री बनेका थिए ।
मुख्यमन्त्री चौधरी लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको पालामा सार्वजनिक लेखा समितिका सभापतिको भुमिका थिए । उनकै पालामा प्रदेश सरकारमा ह्वाइट वडी (सेता गाडी) काण्ड उजागर भएको थियो । त्यसपछि कमिशनमा खरिद गरिएको र आफैले चढेको गाडीसमेत उनले स्टोरमै फिर्ता गरेका थिए ।
त्यो काण्डपछि प्रदेश सरकारको गुमेको झण्डै ६० लाख रुपैंया फिर्ता भएको थियो । दाङलाई राजधानी घोषणा गर्ने र कार्यान्वयनका क्रममा पार्टीको ह्विप विपरित उनले पक्षमा मतदान गरेका थिए । उनकै कार्यकालमा राजधानीको पूर्वाधार निर्माणको काम सुरु भएको थियो ।
चौधरीको जीवनी
नाम ः डिल्लीबहादुर चौधरी
जन्ममिति २०२६ असार १५
आमा ः सोमती चौधरी
बुवा ः टुकलाल चौधरी
स्थायी ठेगाना ः तुलसीपुर उपमहानगरपालिका ६ डुम्रीगाउँ
शिक्षा ः स्नातक (सामुदायिक विकास )
नेपाली काग्रेसको महासमिति सदस्य २०६४ देखि निरन्तर अहिलेसम्म
संविधान सभा सदस्य २०७०
श्रम राज्य मन्त्री २०७३–७४
प्रदेश सभा सदस्यमा निर्वाचित (दाङ ३(१) २०७४
पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री २०७८–०८९ पुस २७ सम्म
प्रदेश सभा सदस्यमा निर्वाचित (दाङ ३ (१) २०७९
संसदीय दलको नेता निर्वाचित २०७९
१७ वर्षको उमेरमै सामाजिक कार्यमा
२०४२ देखि विभिन्न संघ संस्थाको नेतृत्वमा रहेर काम गरेका
२०५७ मा कमैया आन्दोलनको अzगुवाइ गरि कमैया मुक्तिको घोषण नहुँदासम्म आन्दोलनरत
विश्वका ४५ वढी राष्ट्रको भ्रमण र विभिन्न विश्वविद्यालयमा अध्यापन गरेको अनुभव ।