तुलसीपुर, माघ २३ । श्रीमतिको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले दाङले रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं. ६ का ४९ बर्षीय कीर्तिमान बुढाथोकीलाई ४४ बर्षीया श्रीमति गोबिना बुढाथोकीको हत्या गरेको आरोपमा पक्राउ गरि अनुसन्धान थालेको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ को मलार खोलामा गोबिनाको शब सोमबार बिहान फेला परेको थियो ।
बिहान सात बजेतिर कीर्तिमान आँफै जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर श्रीमति गोबिना पहिले देखि नै मुटु रोगको बिरामी रहेको र आँफुहरु पैदल हिड्ने क्रममा एकाएक ढलेर खोलामा मृत्यु भएको बयान दिएका थिए ।
उनको सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेको थियो । मृतकको टाउकोमा चोट देखेपछि प्रहरीले हत्या भएको हुन सक्ने आशंका गर्दै अनुसन्धान अगाडि बढाएको थियो ।
सोधपुछको क्रममा कीर्तिमानले श्रीमतिलाई ढुंगाले हानेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
प्रहरी हिरासतमा रहेका कीर्तिमानमाथि अनुसन्धान गर्न जिल्ला अदालतले सोमबार पाँच दिनको म्याद दिएको छ ।
बुढाथोकीका श्रीमान श्रीमति घोराही– १९ दुईखोली क्षेत्रमा एउटा खाली गोठमा बस्दै आएका थिए । श्रीमान मिस्त्री सडकमा काम गर्दै आएका थिए ।
श्रीमान मिस्त्री थिए भने श्रीमतिले पनि संगै लेबरको काम गर्दै आएकी थिइन । आइतबार बेलुका साढे ७ बजेतिर काम गरि पैदल हिड्दै बास बस्ने ठाउँतर्फ जाँदै गर्दा दुबैले बाटोमा मदिरा सेवन गरेको प्रहरीले बताएको छ ।
मदिरा सेवन पछि संगै हिड्दै गर्दा आपसमा भनाभन भएको र त्यही क्रममा खोलामा श्रीमानले श्रीमतिको टाउकोमा ढुँगा प्रहार गरेपछि उनको मृत्यु भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थप अनुन्धान जारी रहेको प्रहरीले बताएको छ ।
