२०८१ बैशाख १३ गते बिहिवार

यी दुई पुल ठेकेदारको लापरबाहीले सम्झौता सकिएपनि बनेनन्

दाङ, माघ १७ । ठेकेदारको लापरबाहीले सम्झौता सकिएपनि पुल अधकचल्टो अवस्थामा अलपत्र छोडिएका छन् । निर्माण व्यवसायीको चरम लापरबाहीले जिल्लाका दुई स्थानमा निर्माणाधीन अवस्थामा रहेका पुलहरू अलपत्र परेका हुन ।

घोराही उपमहानगरपालिका–१७ अन्तर्गत गैरागाउँ–घनिबगिया सडकखण्डको कुटवाखोला पुल र तुलसीपुर उपमहानगरपालिका वडा नं.१७ को बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने हापुर खोलामा निर्माणाधिन पुल अलपत्र अवस्थामा छोडिएका छन् ।

२०७८ असार १४ गते कटुवा खोला पुल करिब ४ करोड १७ लाख २४ हजार रूपैयाँ र सोही मितिमा हापुर खोला पुल ८ करोड ३६ लाख ८३ हजार रूपैयाँमा निर्माण गर्ने गरि महादेव खिम्ती÷अञ्जना÷जलजला जेभी काठमाडौंसँग सम्झौता भएको थियो । उस्ले डेढ वर्षको अवधिमा यि दुबै पुल निर्माण सक्ने गरी काम सकारेको थियो ।

कटुवा खोला र हापुर खोला पुल निर्माणको काम महादेव खिम्ती÷अञ्जना÷जलजला जेभी काठमाडौंले संयुक्त रूपमा गर्ने गरी जलजल निर्माण सेवाले सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

गत पुस १३ गते सम्झौता समय सकिएपनि पुलको अहिले पाइलिङ फाउन्डेशनको करिब २५ प्रतिशत मात्रै काम भएको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इन्जिनियर मनिष अर्यालले जानकारी दिएका छन् । ‘सम्झौता मितिअनुसार अहिले दुवै पुलहरूको निर्माणको काम सकिनुपथ्र्यो तर २५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ’, कार्यालय प्रमुख अर्यालले भने ,‘दुवै स्थानमा अहिले काम हुनसकेको छैन ।’

पुल निर्माणका लागि सन्तोषजनक काम नभएको र समय थप गर्दा पनि पुल निर्माण हुने अवस्था नदेखिएकाले निर्माण व्यवसायीलाई जरिवानाका लागि सम्झौता सकिएको मितिले ६ महिना दिनको गणना सुरु भएको प्रमुख अर्यालले बताए । ‘ समय थप गर्दा पनि पुल निर्माण हुने अवस्था देखिँदैन’, अर्यालले थपे,‘ निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन पनि नदिएको र सम्पर्कमा पनि नभएकाले अब कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अवस्था देखिएको छ ।’

पुल निर्माणको काम अघि नबढ्दा सेवाग्राहीसँगै कार्यालय समेत कार्यसम्पादनमा पछि परेको कार्यालयले जनाएको छ । पुल निर्माणको काम सुरु भएपनि अहिले निर्माण कम्पनी नै पुल निर्माण गर्ने ठाउँमा नहुँदा पुल बन्ने वा नबन्नेमा आशंका उत्पन्न भएको घोराही उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष रामलौटन चौधरीले बताए ।

वडाध्यक्ष चौधरीले असार महिनादेखि पुल निर्माण स्थलमै ठेकेदार नआएको जानकारी दिए । ‘समयमै पुल निर्माण भएको भए विद्यार्थीलाई घोराही पढ्न जानसँगै स्थानीयलाई बजार जान–आउन सजिलो हुन्थ्यो’, वडाध्यक्ष चौधरीले भने, ‘तर समयमा पुल निर्माणको काम नहुँदा पुल निर्माणका लागि खनेका खाडलका कारण हिडडुल गर्न समेत समस्या भइरहेको छ ।’

प्रकाशित मिति : २०७९ माघ १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *