२०८१ बैशाख १० गते सोमवार

दश महिना बित्यो तुलसीपुरमा सुत्केरीले पोषण भत्ता पाएनन्

तुलसीपुर, पुस २४ । दश महिना बितिसक्दा पनि तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी प्रोत्साहन बाफतको रकम दिन सकेको छैन । रकम अभावलाई कारण देखाउँदै प्रोत्साहन भत्ता करिब बर्ष दिनदेखि रोकिएको छ ।

उपमहानगरपालिका श्वास्थ्य महाशाखाका प्रमुख ओमप्रशाद न्यौंपानेका अनुसार सुत्केरी पोषण भत्ता बाफत गत आर्थिक बर्षको १४ लाख ४० हजार दिन बाँकी रहेको जानकारी दिए । त्यस्तै चालु आर्थिक बर्षको हालसम्मको करिब २० लाख जति सुत्केरी भत्ता उपलब्ध हुन नसक्दा समस्या भइरहेको उनले स्वीकार गरे ।

उपमहानगरपालिकाको निर्देशिका बमोजिम गर्भबती भएदेखि सुत्केरी हुँदासम्म सुचिकृत संस्थामा चेकजाँचदेखि बच्चा जन्माउने महिलालाई सुत्केरी पोषण प्रोत्साहन बाफत ३२००, त्यो भन्दा कम प्रकृया पुरा गरेकालाई २००० र चेतनाको कमली घरमै सुत्केरी हुने वा सुत्केरी गराउन लैजाँदै गर्दा बाटोमा सुत्केरी भएका महिलालाई १००० पोषण प्रोत्साहन भत्ता दिने ब्यबस्था गरिएको छ ।

जस्को प्रमुख उदेश्य मातृ र शिशु मृत्यु दर घटाउने तथा आमा तथा बालबालिकालाई कुपोशनबाट जोगाउनका लागि हो । तुलसीपुरमा अत्याबसत्यक औषधी अभाव उत्पन्न भएको छ । प्रमुख न्यौंपानेले अति आवश्यक औषधीको स्टकसमेत सकिएपछि श्वास्थ्य उपमहाशाखाले अघिल्लो महिना बिशेष टिप्पनी उठाएर औषधी किनेको जानकारी दिए । जतिखेर जीवन जल लगाएतका औषधी महाशाखामा दुई हप्तासम्म एउटापनि स्टक थिएन ।

कमोडिटी (बालरोग सम्बन्धि औषधी)परिवारनियोजनका साधानको स्टक रित्तिएको धेरै भइ सक्यो । संघ र प्रदेश सरकारबाट उपलब्ध हुने यी चिजहरु जति तोकेका गर्दापनि आएका छैनन् । क्षय रोगका बिरामीका लागि पहिले ३ महिना पुग्ने औषधी स्टक हुन्थ्यो भने आज मुस्किलले १० देखि १५ दिन पुग्ने औषधी मात्रै स्टक रहेको प्रमुख न्यौंपानेले बताए । त्यसले गर्दा जेष्ट नागरिक र अशक्त बिरामीले सास्ति खेप्नु परेको छ । १९ वडा रहेको तुलसीपुरमा एक मेट्रो हस्पिटल, हेल्थपोष्ट ८, नगरस्वास्थ्य केन्द्र ११ र सामुदायिक स्वास्थ्य इकाइ २ गरि कुल २२ स्वास्थ्य संस्था छन् ।

स्मार्ट छोरीको खातामा किस्ता गएन

कागजी रुपमा मात्रै नेपालकै ‘स्मार्ट’ सिटी भनिने यो उपमहानगरले ‘स्मार्ट छोरी’ कार्यक्रम अन्तरगतको किस्ता समेत हाल्न सकेको छैन । तुलसीपुरले कार्यबिधि बनाएरै नगर भित्र जन्मेका हरेक छोरीका लागि जन्मेदेखि २० बर्षपछि अर्थात बिहे नहुँदासम्म प्रत्येक महिना एक सय रुपैंया उनीहरुको खातामा स्वतह जम्मा गरिदिने ब्यबस्था यसअघिका मेयर घनश्याम पाण्डेकै पालामा भएको थियो ।

तर, आज रकम अभाव देखाउँदै उक्त रकम छोरीहरुको खातामा जम्मा भइ रहेको छैन । महिला तथा बालबालिका शाखा प्रमुख माया श्रेष्ठका अनुसार २०७७ /२०७८ साल भित्र जन्मेका छोरीहरुको खातामा पैंशा पठाइ सकिएको छ । तर चालु आर्थिक बर्ष सुरु भएयता छोरीहरुको खातामा नगरले पैंशा पठाउन सकेको छैन ।

कामको चापले गर्दा केही ढिलाई भएको, बैंकहरु खाता माग्ने काम भइरहेको हुँदा अबको एक महिना भित्र ‘स्मार्ट छोरी’ कार्यक्रमका लागि पैंशा जम्मा हुन सक्ने उनले आशा ब्यक्त गरिन । ५६५ पुराना र यो आर्थिक बर्षका नयाँ २१५ जना जति छोरीहरु जन्मेको अभिलेख छ । छोरी प्रात्साहन गर्ने उदेश्य राखिएको ‘स्मार्ट छोरी’ कार्यक्रमपनि पैंशा अभावकै कारण मुर्झाएको अर्का एक कर्मचारीले बताए ।

त्यस्तै नगरमा सहयोगका लागि आउने दिर्घ रोगी, गरिब, दुःखीलाई दिने पैंशापनि उपलब्ध छैन । उपमेयर श्यानी चौधरीले त्यसरी माग्न आउने मध्य अवस्था हेरि बास्तबिकता बुझेर एक हजार पन्ध सयदेखि पाँच हजारसम्म तोक लगाउने गरेको बताइन । रकम अभावकै कारण त्यसरी सहयोग माग्न आएका मध्य कतिलाई फर्काउनु परेको उनले स्वीकार गरिन ।

नगरले रातो किताबमा झन्डै ३५ करोड यसअघिको ऋण रहेको उल्लेख गरिएको छ । त्यो ऋण पूर्व मेयर पाण्डेको पालामा लागेको हो । जस्लाई उनले मनतब्यहरुमा ऋण भन्नु भन्दापनि दायित्व थपिएको सार्वजनिक रुपमा बताउँदै आएका छन् । उपमेयर चौधरीले आँफुहरु आउनु भन्दा पहिला लगाइएको करोडौंको ऋण तिर्दै र घटाउँदै हाल २५ करोडसम्म झारेको बताइन ।

बिपद ब्यबस्थापन शाखा प्रमुख ंटोपबहादुर डाँगीले दैबिक बिपदमा परेकाहरुलाई अवस्था हेरि बिपदको जगेडा कोषबाट रकम दिने गरिएको बताए । अप्ठेरो अवस्था रहेका कारण कतिपयलाई आश देखाउँदै बस्नु परेको उनले बताए ।

 

प्रकाशित मिति : २०७९ पुष २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *