तुलसीपुर, पुस २६ । दाङ तुलसीपुरका एक व्यक्तिलाई ‘हनिट्रयाप’मा पारी ठूलो धनरासी माग्ने मध्यकी प्रमुख योजनाकार मानिएकी एक महिला पूर्पक्षका लागि थुनामा पठाइएकी छन् ।
दाङ देउखुरी जिल्ला अदालतले आइतबार भएको थुनछेक बहसमा गढवा गाउँपालिका वडा नं. ६ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराजलाई पूर्पक्षाका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार हिरन्य भण्डारीले जानकारी दिए ।
जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले गहतराजलाई उक्त आदेश दिएसंगै उनलाई कारागार चलान गरिएको छ ।
आपराधिक लाभ मुद्दा चलाइएका आरोपित तीन जना हनिट्रयापका मध्य तुलसीपुर–१८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णीकुमारी बस्नेतसंग अदालतले एक लाख धरौटी माग गरेको थियो ।
मागेको धरौटी रकम बुझाउन नसकेपछि उनीपनि कारागार चलान भएकी छन् ।
यही घटनामा घोराही उपमहानगरपालिका–१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसीसंग पनि अदालतले एक लाख धरौटी माग गरेको थियो ।
अदालतले मागेको धरौटी बुझाएर उनी भने छुटेका छन् ।
‘ब्ल्याकमेलिङ’ गर्दै मोटो रकम माग्ने र नदिए बलात्कार सम्बन्धी मुद्दा हालीदिने धम्की दिएर उनीहरुले तुलसीपुरकै एक पुरुष संग मोटो रकम माग्दै आएका थिए ।
उनीहरूले ती पुरुषबाट पटक–पटक गरी झन्डै ३० लाख लगि सकेको प्रहरीले बताएको छ ।