२०८१ बैशाख ११ गते मङ्गलवार

थारुले घरमा बनाउने रक्सी बजारको रेड लेबल भन्दा धेरै स्तरिय छ – डिल्लीबहादुर चौधरी

  तुलसीपुर, पुस २५ । लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले थारु समुदायले घरमा तयार पार्ने मदिरा स्वास्थ्यका दृष्टिकोणले बजारमा किन्न पाइने ब्रान्डेड मदिरा भन्दा धेरै स्तरिय भएको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौराको कमल ताल नजिकै सोमबार नगरस्तरिय मटवा महासंघले आयोजना गरेको माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित नेपाली काँग्रेसका नेतासमेत रहेका मन्त्री चौधरीले थारु लगाएत जनजातिका मौलिक परिकार र मदिरा पर्वद्धन गर्न राज्यले सघाउने बताए ।

लुम्बिनी प्रदेश सरकारले थारु लगाएत जनजातिका रैथाने परिकार र मदिरा पवद्र्धनका लागि नीति अगाडि बढाएको भन्दै उनले बजारमा किन्न पाइने रेड लेबल, बल्याक लेबल रक्सी भन्दा थारु, मगर गुरुङले घरमा आँफै बनाउने रक्सी कयौं गुणा स्तरिय रहेको दाबी गरे ।

उनले थारु जातिको मौलिक कला संस्कृति जगेर्ना गर्नु चुनौती जस्तै बन्दै गएको भन्दै हरेक जातजातिका मौलिक कला र संस्कृति देशका लागि अमुल्य सम्पत्ति हुने बताए ।

माघी पर्व थारु जातीका लागि सबै भन्दा ठूलो पर्व मात्र नभइ नयाँ बर्षको रुपमा मनाउने हुँदा समाजका माघीको महत्व स्थापित गर्न आफ्ना कला संस्कृती जोगाउन तर्फ लाग्न उनले आग्रह गरे ।

गाउँ घरमा हुने कुनैपनि सामाजिक कार्य थारु समुदायले सामुहिक रुपमा गर्ने परम्परालाई जोगाउन सके मिलेर ठूला ठूला समस्या हल गर्न संभव हुने उनले जोड दिए ।

‘ सिंचाइका लागि कुला पानीको काम होस वा गाउँ घरमा बाटो निर्माण गर्ने काम होस, कोही काममा पछाडि छ भने बेगारी गएर सघाउने काम किन नहोस त्यो सबै मटवाको हातमा हुन्छ,’ उनले थपे ‘समाजमा यति महत्वपूर्ण भूमिका खेल्ने मटवाहरुलाई राज्यले तलबको बेबस्था गर्नु पर्छ भन्ने मलाई लाग्छ ।’

थारु समुदायको पाककलाका साथै मौलिक कला संस्कृति, ढकिया, गुन्द्री बुन्ने, बट्टै बल्झाउने, माछा मार्ने, मुसा मार्ने सीप अनुकरणिय रहेको भन्दै उनले पुस्तान्तरण तथा हस्तान्तरण हुन आवश्यक रहेको जोड दिए ।

उनले युवा पुस्तालाई आफ्नो पूर्खाको सीप र संस्कृती जेगर्ना गर्न तर्फ सक्रिय रहन आग्रह गरे ।
उपमहानगर भित्रका एक सय २७ गाउँका थारु समुदायको जमघट रहेको महोत्सवमा बिभिन्न गाउँका नृत्य पर्दशन गरिएको थियो ।

थारु परिकार पनि महोत्सवमा राखिएका थिए । त्यसक्रममा बिभिन्न मटावाहरुलाई सम्मान पनि गरिएको थियो ।

तस्बिर : फरककोण ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *