तुलसीपुर,मंसिर २२ । तुलसीपुर उपमहानगरपालिकाले फोहोरबाट जैविक मल उत्पादन गर्ने भएको छ ।
पालिकाले फोहोरबाट मल उत्पादन गर्न क्लीन अफ नेपाल र द एशिया फाउन्डेसनको सहकार्यमा तयारी शुरु गरेको हो ।
बजार क्षेत्रको फोहोर ब्यवस्थापनमा चुनौती रहेको तुलसीपुरलाई मल उत्पादन गर्ने भएपछि सहज हुने भएको छ ।
मल उत्पादन केन्द्रका लागि तुलसीपुर उपमहानगरपालिकाले आफ्नै लगानीमा भवन निर्माण गरेको छ ।
मल उत्पादन गर्न क्लीन अफ नेपाल र द एशिया फाउन्डेसनले मेसिन उपलब्ध गराएका छन् । उक्त मेसिनले दैनिक दुई सय किलोग्राम गल्ने फोहोरमार्फत ४० किलोग्राम मल उत्पादन गर्ने फोहर ब्यवस्थापन तथा वातावरण शाखा प्रमुख माधव पौडेलले जानकारी दिए ।
बजार क्षेत्रबाट निस्किने फोहोरमध्ये प्रत्येक १५ दिनमा तीन हजार किलोग्राम फोहोर हालेर एक हजार दुई सय किलोग्राम मल उत्पादन हुने प्रमुख पौडेलले जानकारी दिए ।
फोहोरबाट मल उत्पादन गर्ने मेसिन कार्तिक महिनामा जडान गरिएको थियो । जडान भएको मेसिनको परीक्षण समेत भएको छ ।
मेसिनको परीक्षण सफल भएपश्चात निर्माण गरिएको जैविक मल उत्पादन केन्द्र बुधबार हस्तान्तरण गरिएको छ । क्लीन अफ नेपाल र द एशिया फाउन्डेसनले तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।
तुलसीपुर–६ का अध्यक्ष तथा वन वातावरण तथा विपत ब्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले फोहोरबाट जैविक मल उत्पादन गर्नु निकै प्रशंसनीय कार्य भएको बताएका थिए ।