२०७७ माघ ६ गते मङ्गलवार

प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । बैठकको निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भने , “सचिवालयको बैठकले केन्द्रीय प्रवक्ताले पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।” प्रा डा गोविन्द केसी अनशन प्रकरण विषयमा पार्टी अध्यक्षसँग विवाद भएको जनाउँदै प्रवक्ता श्रेष्ठले राजीनामा दिएका थिए ।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले अघि सारेको प्रस्तावबारे सचिवालय बैठकमा गम्भीर छलफल भएको थियो । नेता नेपालले यसअघिको सचिवालय बैठकको निर्णयप्रति असहमति जनाउँदै पत्र दर्ता गराएका थिए । नेता नेपाल र अन्य नेताले उठाएको विधि, प्रक्रिया, पद्धतिलगायत विषयलाई ध्यान दिंदै अगाडि बढ्ने र यसअघिका निर्णय भने यथावत् रहने निर्णय भएको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रदेश अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोक्ने सचिवालयको निर्णय विधि र प्रक्रियानुसार नभएको भन्दै नेपालले असन्तुष्टि जनाएका थिए ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) बीचको एकता घोषणामा तीन महीनाभित्र तल्लो तहसम्मको एकतालाई पूर्णता दिने जनाइएको थियो । त्यो तीन महीना पूरा भएर थप दुई महीना बितिसक्दा समेत पूर्णता प्राप्त भएको छैन । यही कात्तिक १२ र १३ गते हुने स्थायी कमिटी बैठकका विषयमा भने बुधबार बस्ने बैठकमा छलफल हुने जनाइएको छ । यसअघि आइतबार बसेको सचिवालय बैठकले रामवीर मानन्धरले सांसद सदस्यबाट राजीनामा दिन नपर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *