२०८३ असोज २९ गते बिहिवार

कट्कुँइयामा एकै साथ मरे ६ सय कुखुरा,बिष हालिदिएको आशंका

तुलसीपुर, बैशाख २ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ कट्कुँईयाका केशरबहादुर वलीले सल्ली वनमा पालेका ६ सय कुखुरा एकै साथ मरेका हुन ।

कुखुरा एकै साथ मरेपछि कसैले रिसिबीका कारण बिष हालिदिएको आशंका हुँदै आएको छ ।

चैत ३० गते दिउँसो दुईदेखि साढे दुई केजी तौल पुगेका ६ सय जति कुखुरा एकै साथ मरेको बारे वलीले बैशाख १ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा आएर घटना अनुसन्धान गर्न माग गर्दै निबेदन दिएका छन् ।


त्यो निबेदनमा बाहिरै कुखुरालाई पानी दिनका लागि निर्मित पानी ट्याँकीमा कसैले बिषादी हालिदिएको हुन सक्ने भन्दै अनुसन्धान र दोषीलाई कारबाहीको माग वलीले गरेका छन् ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले वलीको निबेदनका आधारमा घटना बारे अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

६ सय कुखुरा एकै साथ मर्दा करिब चारलाख रुपैंयाको क्षति भएको वलीले बताए ।

कुखुरा मरेकै दिन वलीले उक्त ट्याँकीको पानी बोत्तलमा राखेर परीक्षण गराउन भन्दै तुलसीपुर स्थित खानेपानीको कार्यालयमा पुगेका थिए ।
परीक्षण गर्ने ल्याब जिल्लामा नरहेको तथा काठमाडौंमा रहेको भन्ने थाहाँ पाएपछि वली घर फर्केका थिए ।

घर पुगेर वलीले फेरि त्यही ट्याँकीको पानी आफ्नै अर्कौ फार्मका थप दुई वटा कुखुरालाई समेत दिएका थिए ।
ती दुई वटा कुखुरापनि पानी दिएको एक डेढ घन्टा भित्रै मरेपछि त्यसमा बिषादी मिसाइएको आँफूले निश्चय गरेको वलीले बताए ।

एकै साथ सयौं कुखुरा मरेर खोर रित्तिए पनि वलीले कसैमाथि पनि किटानी जाहेरी भने दिएका छैनन् ।

केही दिन अगाडि मात्रै बाटो खन्ने बिषयमा वलीसंग गाउँकै एक ब्यक्तिसंग सामान्ने बिबाद भएको वलीले स्वीकार गरे ।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *