२०८३ असोज ३० गते शुक्रवार

यूएइको जेलमा रहेका रुपन्देहीका पत्रकार पाण्डेको रिहाइका लागि काठमाण्डौंमा धर्ना

काठमाण्डौ,चैत २६ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकै कारण षड्यन्त्रकारी उजुरी गरी जेल परेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि पत्रकार लगाएत सरोकारवालाहरुले आवाज उठाइरहेका छन् ।

यसै क्रममा यूएईको जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको लागि शनिबार काठमाण्डौको माइतीघरमा धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै उनको रिहाइको लागि युथ कंग्रेसको आयोजनामा धर्ना कार्यक्रम भएको हो ।

धर्नामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दूतावास र राजदूतले आफ्ना देशका नागरिकको संरक्षण गर्नुपर्नेमा उजुरी नै गरेर जेल पठाउनु अक्षम्य अपराध भएको बताउँदै पत्रकार पाण्डेलाई रिहाइको लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने र राजदूतलाई तत्कालै फिर्ता बोलाउनुपर्ने बताए ।

पत्रकार पाण्डेले नेपालमा रहँदा गएको जनवरी ७ (पुस २३) गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा स्ट्याटस लेखेका थिए ।

फेसबुकमै लेखेको आधारमा पत्रकारलाई जेल पठाइनु संविधानमा भएका मौलिक हककै उल्लंघन भएको पनि पोख्रेलको भनाइ छ ।

धर्नामा एमनेष्टी इन्टरनेशल नेपालकी महासचिव सञ्चिता कुइँकेल, पत्रकार महासंघ यूएईका पूर्व अध्यक्ष भुपराज बस्याल लगाएतले पनि राजदूतले पदको दुरुपयोग गरेर पत्रकार उमाकान्त पाण्डेलाई जेल पठाएको भन्दै सरकारले तत्कालै कदम चाल्नुपर्ने बताए।

धर्नामा ‘वाक स्वतन्त्रता हनन् स् लोकतन्त्रको उपहास’, ’पराइ भूमिमा आफ्नैबाट नागरिक असुरक्षित’, ’परराष्ट्रको मौनता स् राजदूतलाई हौसला’ लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।

यूएईको नेपाली दूतावासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाइ दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिबाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने कारबाही सुनाएसँगै उनी त्यहाँको जेलमा रहेका छन् ।

अर्घाखाँची स्थायी घर भएका पाण्डे रुपन्देहीका बासिन्दा हुन्। उनी लामो समयदेखि यूएइमा रहेर अन्य रोजगाारसँगै पत्रकारिता गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *