
तुलसीपुर, चैत २२ । दाङको बबई गाउँपालिका वडा नं. ५ हापुरे निवासी कृष्णबहादुर खत्रीले रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिका बिरुद्ध प्रहरी प्रशासनमा ठगी मुद्दा दिएका छन् ।
कम्पनी र कम्पनीका सह–प्रोप्राइटर (स्याङजा घर भइ हाल काठमाडौं बस्दै आएका) बाबुकाजी श्रेष्ठका बिरुद्ध खत्रीले ठगी मुद्दा दर्ता गराएका हुन ।
२०६९ साल मंसिर महिना सल्यान जिल्लाको लेखपोखरा भन्ने ठाउँमा जनश्वास्थ्य भवन निर्माण कार्य गरेका खत्रीले एक करोड २३ लाख ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय दाङमा मुद्दा दर्ता गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा चैत २१ खत्रीले उक्त ब्यहोराको मुद्दा दर्ता गरेको जानकारी दिए । त्यस्तै उनले जिल्ला प्रशासन कार्यालय सल्यान, जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय रोल्पा, जिल्ला प्रशासन कार्यालय नवलपरासी, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रशासन सुर्खेत र जिल्ला प्रशासन कार्यालय बर्दियामा समेत हुलाक मार्फत उजुरी पठाएको जानकारी दिए ।
२०७१ साल जेठ ७ गते तत्कालिन समयमा भवन निर्माण गरिरहेका खत्रीबाट रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले काम खोसेको थियो । भवन निर्माण गर्ने ठेक्का रसुवाले नै पाएको थियो । तर, पेटी ठेकेदारका रुपमा खत्री त्यहाँ काम गर्न पुगेका थिए । एक तलाको काम पुरा भइ दोस्रो तलाको सेटिङको काम भइरहँदा नयाँ बर्ष मनाउन घर आएको मौका छोपी काम नगरेको आरोपसहित खत्रीबाट रसुवाले काम खोसेको पीडितको जाहेरीमा उल्लेख छ ।
उक्त भवन निर्माण कार्य २०७४ सालमा कम्पनी आँफैले पुरा गरेको थियो । पेटी ठेकेदार खत्रीले आँफुले भनव निर्माणमा गरेको कामको लेबर, मिस्त्री खर्च बाफतको ४५ लाख ८६ हजार २५०, ट्याक्टर ढुवानी बाफतको ३८ लाख ९७ हजार, काठ चिरान बाफतको ४ लाख ४५ हजार, गिट्टी फोड्ने लेबरलाई दिनुपर्ने खर्च ९ लाख ५२ हजार, खोलामा बालुवा चालेर निकाल्नेहरुका लागि दिन बाँकी १० लाख ३२ हजार, अम्बे स्टील भैरहवाबाट छड खरिद गरेबाफतको २६ लाख ७९ हजार ७ सय २१, सपना इन्टरप्राइजेज घोराहीबाट छड, सिमेन्ट खरिद गरेको १४ लाख ७० हजार ४९२ र अन्य आवश्यक सामाग्री खरिद गर्दा भएको खर्च १५ लाख १९ हजार मध्यको रकम नपाएको पेटी ठेकेदार खत्रीले उजुरीमा उल्लेख गरेका छन् ।
१ करोड ९३ लाख ५९ हजार ६८३ रुपैंया बराबरको भवन निर्माणको काम गरेका पेटी ठेकेदार खत्रीलाई रसुवाका सह–प्रोप्राइटर बाबुकाजी श्रेष्ठले ४६ लाख ८६ हजार ९ सय ६७ रकम मात्रै दिएको उजुरीमा उल्लेख गरेका छन् ।
त्यस्तै दाङ घोराहीका बलीभद्र रानाले पेटी ठेकेदार खत्रीलाई थप २३ लाख दिएको उजुरीमा उल्लेख छ । खत्री रानामार्फत सल्यानमा जनश्वास्थ्यको भवन निर्माणको काम गर्न गएका थिए ।
‘ बली रानाले मलाई एक रुपैंया ठग्नु भएन,’ खत्रीले भने ‘ रसुवाका सह–प्रोप्राइटर बाबुकाजी श्रेष्ठले करोडौं रकम ठगेको हुँदा उहाँलाई मुद्दा हालेको हुँ।’
गत असोजमा मात्रै बाबुकाजीले पेटी ठेकेदार खत्रीको खातामा २० हजार रकम पठाएका थिए । थप रकम माग्न खोज्दा बाबुकाजीले ज्यान लिने धम्कि दिने गरेको खत्रीले जानकारी दिए ।

अब पैंशा मागिस भने तलाई कुनैपनि ठाउँमा दुर्घटनामा पारेमा भएपनि मारिदिन्छु भनेर धम्कि श्रेष्ठले दिने गरेको खत्रीले बताए ।
‘ बाबुकाजीले ठगेको हुँदा मैले सबै पैतृक सम्पत्ति सके,’ खत्रीले भने ‘ अब म संग एक टुक्रा जमिन छैन ।’
आठ कठ्ठा बारी र हापुरे बजारको एउटा पक्की घर लेबेरलाई दिन तथा बैंक ग्यारेन्टी बाफतको रकम तिर्नका लागि बेचेपछि अहिले आँफू र आफ्नो परिवार सडकमा आइपुगेको खत्रीले बताए ।
खत्री ठगिएको तथा ज्यान मार्ने धम्कि दिएको बारे बुझ्न खोज्दा रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिका सह–प्रोप्राइटर बाबुकाजी श्रेष्ठले धम्कि नदिएको बताए । पैंशाको कुरा गर्दा खत्रीले पाउनु पर्ने सबै पैंशा पाएर पनि दुःख दिइ रहेको दाबी गरेका थिए । ‘मैले दिनुपर्ने सबै दिइ सकेको छु,’ उनले भने ‘ पैंशा लगेर पनि फेरि फेरि मागिरहनु गलत हो।’
लुम्बिनी प्रदेश निर्माण ब्यबसायी संघका अध्यक्ष बलिभद्र रानाले पनि खत्रीमाथि रसुवाले बदमासी गरेको तथा ठगेको बताए । ‘बाबु काजीले खत्रीमाथि ठूलो अन्याय अत्याचार गरेका छन्,’ रानाले भने ‘ खत्रीको परिवार सडकमा आइपुग्दा समेत मानवता नदेखाउनु ठूलो अत्याचार हो ।’ उनले पीडित खत्रीले तत्काल रकम पाउनु पर्ने बताए ।
साथै रानाले आँफू समेत रसुवाबाट पाउनु पर्ने रकम पुरा नपाएको जानकारी दिए । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले मुकुका बिभिन्न स्थानमा ठूला–ठूला पुल तथा संरचना निर्माणको काम गर्दै आएको छ ।
