२०८२ जेष्ठ ३० गते शुक्रवार

स्थानीय निर्वाचनका लागि मतपत्र छपाइ सुरु

काठमाडौं,चैत २१ । आगामी ३० वैशाखमा हुने स्थानीय तह चुनावको मतपत्र छपाइ सुरु भएको छ । निर्वाचन आयोगले आजदेखि मतपत्र छपाइ सुरु भएको जानकारी दिएको हो ।

आइतबार नमुना मतपत्र छापेको आयोगले आजबाट मतपत्र छपाइ सुरु गरेको हो ।

आयोगका अनुसार एक लाख ८० हजार थान नमुना मतपत्र छापिएको थियो । सोहीबमोजिम निर्णय गरेर आजैबाट मतपत्र छपाइको काम आयोगले सुरु गरेको हो ।

स्थानीय तह चुनावका लागि आयोगले २३ लहर समूहमा मतपत्र छाप्न सुरु गरेको हो । त्यसमध्ये सबैभन्दा कम डोल्पाको मतपत्र १६ लहरको हुनेछ ।

त्यस्तै सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुने आयोगले जनाएको छ ।

२३ लहर समूहमा कुल एक करोड ९४ लाख थान मतपत्र छपाइ हुने आयोगले जानकारी दिएको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ भइरहेको छ ।

मतपत्र छाप्नका लागि आयोगले प्राथमिकता निर्धारण गरेको छ । सबैभन्दा पहिला दुर्गम क्षेत्रको मतपत्र छापिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

मतपत्र छाप्न सेक्युरिटी प्रेसमा काम गर्ने छुट्टै कर्मचारीलाई खटाइएको छ । नम्बरिङ, प्याकिङ र ब्यान्डिङको सम्पूर्ण काम ती कर्मचारीले गर्नेछन् ।

मतपत्र छपाइको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ । नेपाली सेनाको कमान्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत सुरक्षार्थ खटिएका छन् ।

मतपत्र छपाइको कामसमेत व्यवस्थित गर्नका लागि मतपत्र छाप्ने स्थल वरवर सिसी क्यामेराको समेत व्यवस्था गरिएको छ । मतपत्र छपाइको काम २० दिनभित्रमा सकिने जानकारी जनक शिक्षाले आयोगलाई दिएको छ ।

स्वीकृत अन्तिम मतदाता नामावलीबमोजिम एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता छन् । कुल मतदाताको आठदेखि १५ प्रतिशतसम्म थप मतपत्र छापिने प्रवक्ता पौडेलको भनाइ छ ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *