२०८३ असार २७ गते शनिवार

होली पर्वमा हुने विकृति हट्दै, काठमाण्डौ उपत्यकामा सुरक्षा व्यवस्था कडा

काठमाण्डौ,चैत ३ । केही वर्षदेखि रङको पर्व फागु अर्थात होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, चारपाँच वर्षयतादेखि फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको छ ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ ।

तराईका जिल्लामा भने भोलि होली मनाइन्छ । आज काठमाण्डौको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाइन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाइ ल्याइएको दश पाथी चामलको भात र मासु खुवाएर सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा रहेको गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारेर गाडिएको चीरमा पूजाआजा गरेपछि फागु पर्व विधिवत् रुपमा सुरु भएको थियो । होलीको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

यसैबीच, होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । होलीका नाममा अश्लिल, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ‍झण्डै चार हजार सुरक्षाकर्मी परिचालन गरेकोे छ ।

होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बताए ।

जथाभाबी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, जाँड रक्सी खाएर गाडी चलाउने, झैझगडा गर्ने र दुर्व्यवहार गर्नेलाई कारबाही हुने उनले बताए । उनका अनुसार ६८ वटा चोकमा चेकप्वाइन्ट राखिएको छ । सादा पोसाकका ट्राफिक प्रहरीसहितको टोलीले संयुक्त रूपमा नियमित चेकिङ गर्ने छन् ।

बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, गाडी अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा पनि ट्राफिक प्रहरी परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, जाँड रक्सी खाएर गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा दुई जनाभन्दा धेरै चढ्ने, गाडीको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी गाडी चलाउने र ट्राफिक नियम विपरीत गाडी चलाउनेमाथि विशेष निगरानी राखिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *