तुलसीपुर, फागुन १८ । दाङमा कारले मोटरसाइकललाई ठक्कर दिदा दश बर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्लाको राप्ती गाउँपालिका– ७ आनन्दपुरकी १० वर्षीया सन्ध्या चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते चौधरीको उपचाकार क्रममा लमही अस्पतालमा गएराति सवा ११ बजेतिर मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले उक्त दुर्घटनामा मोटरसाइकल चालक राप्ती ६ सगरापुरका ४४ वर्षीय जयराम चौधरी र सोही ठाउँ निवासी पछाडि सवार उनकी बहिनी ३५ वर्षीया बेदकुमारी चौधरी घाइते भएका छन् । प्रहरीका अनुसार मृतक बालिका मोटरसाइकल चालक जयरामकी भान्जी हुन ।
त्यस्तै दुर्घटनामा परि पैदलयात्रु लमही नगरपालिका ८ असानीका २८ वर्षीय पारस बोहोरापनि घाइते भएका छन् । प्रहरीका अनुसार बेदकुमारी र उनका दाजुलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ । अर्का घाइते बोहोराको भने लमहीमै उपचार भइरहेको छ ।
गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु २ च ७६८२ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको रा ३ प ३४६१ नम्बरको मोटरसाइकल गएराति साढे दश बजे गढवा गाउँपालिका – २ महादेवा पुल नजिकै कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुबै साधन तीब्र गतिमा रहेका कारण उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । कार र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।