तुलसीपुर, माघ ११ । सवारी ज्यान मुद्दामा उच्च अदालत तुलसीपुरले एक जना चालकलाई दश लाख धरौटी तोकेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १३ का ४३ बर्षीय चालक नरबहादुर पुनले भदौ १६ गते राति घोराही ४ स्थित सिस्ने खोलाको बाढीमा ३–०१०२४ च ४४४० नम्बरको कार हालेपछि बाढीले बगाउँदा चार महिलाको मृत्यु भएको थियो ।
बाढीले कार बगाएपछि नेपालगन्जबाट तीजको लागि किनमेल गरेर घर तर्फ फर्किरहेका घोराही १५ की ३३ वर्षीया राधा कुँवर, घोराही १३ की राधाकी दिदी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ४३ बर्षीया बिमला केसी र घोराही १३ की ४० बर्षीया रितामाया पुनको मृत्यु भएको थियो । चालक पुन घाइते भएका थिए ।
घटना पछि चालक पुनका बिरुद्ध जिल्ला अदालतमा सवारी ज्यान मुद्दा चलेको थियो ।जिल्ला अदालतले कार्तिक ८ गते प्रतिबादी चालक पुनसंग एक लाख धरौटी माग गरेको थियो ।
तर, प्रतिबादी चालक पुन जिल्ला अदालतको आदेश बढी भएको भन्दै उच्च अदालत तुलसीपुरमा अपिल गर्न पुगेका थिए ।उल्टै उच्च अदालतले उक्त मुद्दामा सुनवाई गर्दै पुस १ गते चालक पुन जिल्ला अदालतको फैसला रद्द गर्दै धरौटी रकम कम तोकिएको भन्दै दश लाख रुपैंया धरौटी तोकेको हो ।
उच्च अदालतका शाखा अधिकृत गोकर्ण वलीका अनुसार अदालतले तोकेको दश लाख नगद धरौटी वा सो बराबरको जमानत बुझाउन नसकेपछि चालक पुन पर्पक्षका लागि थुनामा पठाइएका छन् । चालक पुनको मुद्दाको किनारा लाग्न बाँकी नै छ ।
यो पनि पढ्नुहोस
नेपालगञ्जबाट सपिङ गरेर आउँदै गरेका चार महिलाको सिस्ने खोलाले बगाउँदा मृत्यु, कार चालक गम्भीर घाइते