राजेश खत्री,
दाङ, पुस २३ । दाङको घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी ६४ बर्षीय चित्रविर घर्ती मगर संग लाखौं मुल्य पर्ने जग्गाको पूर्जा त छ तर जग्गा भने अर्कै व्यक्तिको नाममा नामसारी भइसकेको छ ।
धर्ना गाउँस्थित कित्ता नं. ४३४ को ९ कठ्ठा ७ धुर जग्गाको पूर्जा मालपोत कार्यालयमा उनकै नाममा रहेतापनि नापी कार्यालयमा भने त्यो जग्गा कित्ता काट भएर अर्कै व्यक्तिको नाममा गइसकेको तथ्य फेला परेपछि आज घर्ती तीनछक परेका छन् ।
त्यो जग्गा घर्तीकी हजुरआमा बोदी घर्तीले विक्रम संवत २०१८ साल फागुन ९ गते स्थानीय डिल्लीबहादुर कार्कीसंग किनेको जग्गा हो । चित्रविर घर्तीसंग भएको पूर्जाले त्यही पुष्टि हुन्छ ।
त्यो जग्गा बोदीको मृत्यु पछि २०३९ सालमा चित्रविरकी आमा सावित्रा घर्तीको नाममा प्रक्रियागत रुपमा आएको थियो । पछिल्लो २०६८ साल असार २ गते चित्रविरको नाममा त्यो जग्गा नामसारी भएको प्रमाण मालपोत कार्यालय दाङसंग सुरक्षित छ ।
हालसम्म घर्तीले ऋण कर्जको काम पनि त्यही जग्गा बाटै गर्दै आएका थिए । किनकि मालपोत कार्यालयमा अहिले पनि धर्ना गाउँस्थित कित्ता नं. ४३४ को ९ कठ्ठा ७ धुर जग्गा चित्रविर घर्ती मगरकै नाममा छ ।
तर झन्डै दुई वर्ष अगाडि चित्रविरका तीन छोरा छुट्टीन भनी घोराहीस्थित जिल्ला मालपोत कार्यालयमा अंशवण्डाको लागि पुगेपछि त्यो जग्गा उनको नाममा नरहेको तथ्य उजागर हुन पुग्यो । नापी कार्यालयमा त्यो जग्गा कित्ता काट भइ अर्कैको नाममा गइसकेको हुँदा कित्ताकाट गर्न नमिल्ने स्पष्ट पारिदियो ।
झन्डै ४० लाख मुल्य बराबरको घरवास सहितको जग्गा अर्कै व्यक्तिको नाममा नामसारी भएको जानकारी पछि घर्तीको परिवार निकै आत्तियो । चित्रविरका जेठा छोरा रणबहादुर घर्तीले जग्गा फिर्ता गराउन अनेक प्रयत्न गरे । एकजना घोराहीका व्यापारी धर्मराजले रणबहादुर घर्तीसंग २० हजार दिए जग्गा मिलाईदिने आश देखाए । यो २०७३ को कुरा थियो । तर उनले जग्गा मिलाई दिन सकेनन् । हाल श्रेष्ठ अमेरिकामा बस्दै आएको घर्ती परिवारले जानकारी दिएको छ । घर्ती परिवारले यो बीचमा आफ्नो जग्गा फिर्ता ल्याउन अनेक गर्दापनि फिर्ता पाउन सकेको छैन ।
कुनै उपाए नचलेपछि चित्रविर घर्ती मगरले २०७५ कार्तिक २६ गते आफ्नो जग्गाको कित्ता नम्वर संशोधन गरि पाउँ भनि मालपोत कार्यालयमा निवदेशन दिए । जिल्ला मालपोत कार्यालय घोराही उक्त दिन नै कित्ता नं. ४३४ को ९ कठ्ठा ७ धुर जग्गाको प्लट रजिष्टर र फिल्ड बुक पठाइदिन भन्दै जिल्ला नापी कार्यालयलाई पत्रचार ग¥यो । उक्त दिन नै नापी कार्यालयले पनि मालपोत कार्यालयलाई पत्रको जवाफ फर्कायो । जसमा प्लट रजिष्टरमा कित्ता नं. ४३४ कित्ता काट भइसकेको र त्यसवाट नयाँ कित्ता नं. ७०७ र ७०८ कायम भएको भन्ने उल्लेख छ । नापीले मालपोतलाई पठाएको पत्रमा कित्ता नं. ७०७ मा ४ कठ्ठा ९ धुर र कित्ता नं. ७०८ मा ४ कठ्ठा १८ धुर जग्गा कायम रहेको छ । प्लट रजिष्टर र फिल्ड बुकको विवरणमा यस्तो पाइएपछि चित्रविर घर्ती मगरले माग गरे बमोजिम मालपोत कार्यालयले उनको जग्गाको कित्ता नं. ४३४ संशोधन गर्न सकेन । त्यसैले यो उत्पन्न समस्या कसरी समाधान गर्ने ? भन्ने सवालमा मालपोत कार्यालय पनि अन्यौंलमा परेको छ ।
मालपोतको पत्रचार र आदेश विना नापी कार्यालयले कुनैपनि जग्गाको कित्ता काट गर्ने मिल्दैन । २०४० साल चैत २९ गतेको मालपोत कार्यालयको चलानी नं. २७३१ को आदेश अनुसार नापी कार्यालले उक्त कित्ताकाट गरिएको स्पष्ट उल्लेख गरेको छ । तर त्यो आदेश हाल आएर मालपोत कार्यालयमा खोज्दा भेटिएको छैन । जिल्ला मालपोत कार्यालय दाङका प्रमुख विनोदकुमार पौडेलले घर्ती अब न्यायका लागि अदालत जानुपर्ने स्थिति आउन सक्ने तर्क गर्छन ।
अर्कौ तर्फ कित्ता नं. ७०७ को ४ कठ्ठा ९ धुर क्षेत्रफलको जग्गा २०४२ सालमै धर्ना गाउँकै हिरालाल केसी भन्ने व्यक्तिले गाउँकै छोटीलाई चौधरीलाई पारित राजीनामा बाट विक्रि गरिसकेको प्रमाण मालपोत कार्यालय संगै छ । तर छोटीलालले भने हालसम्म त्यो जग्गा कहिलै भोग चलन गरेका छैनन् । त्यो जग्गा आफ्नो नाममा छ भन्ने समेत चौधरीलाई जानकारी थिएन । छोटीलाल चौधरीले कित्ता नं. ४३२ को ३ कठ्ठा साढे १७ धुर जग्गा किनेपछि ०४२ सालदेखि नै भोग चलन गर्दै आएको बताए । चौधरीलाई जग्गा विक्रि गर्ने हिरालाल केसीले पनि त्यही जग्गा हो भनेका रहेछन् । तर छोटीलाल चौधरीले भोग चलन गर्दै आएको कित्ता नं. ४३२को श्रेस्ता कायम नै छैन । त्यस्तै कित्ता नं. ४३४ बाट कित्ता काट भएको मध्य कित्ता नं. ७०८ को समेत श्रेस्ता कायम छैन । त्यसैले कित्ता नं. ४३२ र ७०८ कस्को जग्गा हो ? भन्ने बारेमा समेत अन्यौंलता छाएको छ ।
लालपूर्जा अनुसार घोराही ५ धर्ना गाउँको कित्ता नं. ४३४ को ९ कठ्ठा ७ धुर चित्रविर घर्ती मगरको मात्रै हुनुपर्ने हो । उनको माग दाबी त्यही छ । तर त्यसमध्यको कित्ता नं. ७०७ को ४ कठ्ठा ९ धुर क्षेत्रफलको जग्गा छोटीलाई चौधरीको नाममा छ । अर्कौ तर्फ घर्तीकै जग्गा बाट नयाँ कित्ता काट भएको कित्ता नं. ७०८को ४ कठ्ठा १८ धुर जग्गाको श्रेस्ता नै कायम छैन । त्यो जग्गा कस्को हो ? त्यसले अन्यौंलता सृजना गरेको छ ।
उता छोटीलाल चौधरीले हालसम्म जोत भोग गर्दै आएको कित्ता नं. ४३२ को जग्गाको क्षेत्रफल ३ कठ्ठा साढे १७ धुर मात्रै छ । जग्गा धनि पूर्जामा चौधरीको जग्गाको क्षेत्रफल ४ कठ्ठा ९ धुर उल्लेख छ । २०५८ सालमा माओवादीले नापी कार्यालयमा आगजनी गरेको हुँदा भएका प्रमाण पनि नष्ट भए । त्यही आधारमा जग्गा दलाल र घुसिया कर्मचारीले एउटाको जग्गा अर्कै व्यक्तिको नाममा नामसारी गरिदिएको हुन सक्ने आशंका व्याप्त बनेको छ ।