२०८१ माघ ९ गते बुधवार

प्रमुख जिल्ला अधिकारीले हरेक महिना पुलको अनुगमन गर्ने

घोराही, २० पुस । दाङका निर्माणाधिन पुलहरुको हरेक महिना अनुगमन गरिने भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले विहीबार दाङका विभिन्न खोलामा निर्माणाधिन पुलको अनुगमन गर्दै अव हरेक महिना कामको प्रगतिको जानकारी लिइने बताए ।

प्रमुख जिल्ला अधिकारी रिजालले लमही–घोराही सडक खण्डमा पर्ने बवई, सिस्ने, कटुवा, गुज्रे र सक्राम खोलामा निर्माणाधिन पुलको अनुगमन गरेका थिए । उनले सवै पुलको काम भइरहेका भएपनि कतिपय स्थानमा सुस्त गतिमा काम भइरहेको भन्दै कामलाई तिव्रता दिन आग्रह गरेका थिए । हाल लमही घोराही सडक खण्डमा पर्ने नौवटा खोलामध्य सातवटा खोलामा पुल निर्माणको काम भइरहेको छ ।

ववईमा निर्माणाधिन पुलको काम चालु आर्थिक बर्षमा सक्ने अवस्थामा रहेको जानकारी निर्माण व्यवसायीले दिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । यसैगरी सिस्ने खोलामा पुल निर्माणको काम तिव्र रुपमा अघि बढेको भएपनि आगामी आर्थिक बर्षमा मात्रै सकिने अवस्था रहेको छ । यसैगरी कटुवा खोलामा पुलको ढलाई गर्ने काम सकिएको भएपनि सवारी आवागमन गर्ने अवस्था रहेको छैन । निर्माण व्यवसायी पदमराज शर्माले पुस महिना भित्रै पुलको माथिबाट गाडी चलाउने जानकारी दिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

यसैगरी गुज्रे खोला र सक्राम खोलाको पुल पनि यसै आर्थिक बर्षमा सकिने अवस्थामा रहेको भएपनि अनुगमन जारी नराखिए निर्माणको काम समयमा सम्पन्न नहुने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । उनले पत्रे खोलाको पुलको काम शुरु नै नभएकाले निर्माण व्यवसायीलाई अविलम्व शुरुवात गर्न भनिएको पनि बताए ।

सक्राम खोलामा पुल निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी निर्माण व्यवसायीले गराएका थिए । पुलको वारी र पारी माटो भर्ने काम भइसकेको भन्दै निर्माण व्यवसायीले सवैभन्दा पश्चिमको स्ल्याव मात्रै बनाउन बाँकी रहेको बताएका थिए । आगामी बर्षाभन्दा पहिले सक्राम खोलाबाट गाडी वारपार गर्न सक्ने देखिएको सडक डिभिजन दाङका प्रमुख बद्रीप्रसाद शर्माले बताए । शर्माले पटक पटक अनुगमन गर्ने हो भने निर्माण व्यवसायीलाई समयमा काम सक्न दवाव पर्ने बताए । उनले पनि अव हरेक महिना आफूहरु आएर अनुगमन गर्ने र कुनै समस्या परेका जानकारी गराउन निर्माण व्यवसायीलाई आग्रह गरेका थिए । अनुगमनमा प्रमुख जिल्ला अधिकारी रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्य र सडक डिभिजन प्रमुख शर्माको सहभागिता थियो ।

प्रकाशित मिति : २०७५ पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *