२०८१ असोज २४ गते बिहिवार

दंगीशरणमा समुदाय–प्रहरी साझेदारी सार्वजनिक सुनुवाई

दिप्तीशिखा चौधरी,
दंगीशरण, १५ पुस । दंगीशरण गाउँपालिकाको शान्ति सुरक्षा मजबुद बनाउनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरूले बताएका छन् । ईलाका प्रहरी कार्यालयमा जनशक्तिको कमी भएकाले विभिन्न घटना घट्ने गरेको भन्दै शान्ति सुरक्षा फितलो भएको उनीहरूको भनाई थियो । यातायातको साधनमा कमी र सुरक्षाकर्मीहरूको जनशक्ति निकै नै कम भएका कारण समयमा प्रहरी घटनास्थलमा पुग्न नसकेको उनीहरूले गुनासो गरेका थिए ।

ईलाका प्रहरी कार्यालय हेकुलीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् । साथै उनीहरूले लागूपदार्थ दुब्र्यसनीका लागि विद्यालय, टोलस्तरीय कार्यक्रम गर्नुपर्ने, गाउँघरमा उत्पादन गर्ने जाँडरक्सीलाई नियन्त्रण गर्न गाउँ तथा टोलमा प्रहरीले छापा मार्नुपर्ने, विद्यार्थीहरूका लागि लागूपदार्थ दुब्र्यसनीसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने, महिला हिंसा व्यापक रूपमा हुने गरेकाले प्रहरीले अभियान चलाएर दोषीलाई कानुनी प्रक्रियामा ल्याउनुपर्ने, जुवातासदेखि लिएर चाडपर्वमा हुने अनैतिक क्रियाकलापलाई रोक्न सुरक्षा निकायले गस्ती गर्नुपर्ने, युवाहरूका लागि सचेतनामूलक कार्यक्रम गर्नुपर्ने, विभिन्नखाले घटनालाई कम गर्न कारवाही प्रक्रियालाई अगाडि बढाउनुपर्ने, घटना हुने स्थानमा निगरानी गर्नुपर्ने आवश्यक रहेको उनीहरूको भनाई थियो ।

गाँउ पालिका वडा नम्बर ४ का अध्यक्ष नेवबहादुर कवँर, वडा नम्बर ३ कार्यपालिका सदस्य दिल कुमारी विक, वडा नम्बर ६ का महिला सदस्य हिरा चौधरी, अङ्गी चौधरी, वीरेन्द्र मावि हेकुलीका प्रधानाध्यापक खिमराज खनाल, किरण यौगी, नेत्र न्यौपाने, खड्कवीर चौधरी, पार्वता अधिकारी, विद्यार्थी कोमल वली लगायतले धारणा व्यक्त गरेका थिए । जनगुनासोपछि प्रहरी निरीक्षक एवं समितिका सहसंयोजक भिमबहादुर कार्कीले जनता र सुरक्षा निकायबीचको सम्बन्धलाई नजिक बनाउन प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताएका थिए । उनले स्थानीय तह, समुदाय, सामाजिक संस्था, विद्यालय गरी चारतहमा गठन भएको यो अभियानले समाजमा जनचेतना जगाउने र कारवाही प्रक्रियाबाट काम गर्न सकिने भएकाले यस्तो कार्यक्रम सञ्चालन गरेको बताउँदै यसका लागि समाजमा हुने जुनसुकै घटना न्यूनीकरण गर्न जनताले प्रहरीलाई साथ दिनुपर्ने बताए ।

राम्रो समुदाय निर्माणका लागि प्रहरीको एक्लो प्रयासले केही नहुने भन्दै जनताको साथ र सहयोगबाट हरेक समस्याको समाधान हुने बताए । यसका साथै उनले गैरकानुनी रूपमा गर्ने काम बाहेक सबै प्रक्रिया प्रहरीले अगाडि बढाउने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा समितिका संयोजक भागीराम चौधरीले गाँउपालिकामा हुने घटनालाई कम गर्न सबै निकायबाट लाग्नुपर्ने बताए । समाजलाई सुधार्ने विषयमा प्रहरीले मात्र नभएर समुदायका हरेक प्रतिनिधीको भूमिका आवश्यक रहने उनको भनाइ थियो । गाउँपालिकाको विकास निर्माणसँगै जनता र सुरक्षाबीचको सम्बन्ध नजिक बनाउन प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको भन्दै अबका दिनमा समृद्ध गाउँपालिका बनाउन सबै हातेमालो गर्न आवश्यक रहेको उनको भनाई थियो ।

यस्तै गाउँपालिकाका उपाध्यक्ष एवं समितिका सहसंयोजक पिमा कुमारी खड्काले प्रहरीले गाउँ तथा टोलमा गस्ती बढाउँदा गाउँ टोलमा हुने जुनसुकै घटनामा कमी आउने बताइन् । गाउँपालिकाभित्र हुने कुनै पनि घटनालाई कम गर्न प्रहरीसँगको साझेदारीको आवश्यक हुने उनको ठहर थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण प्रहरी नायव निरीक्षक कृष्ण बहादुर पुजाराले गरेका थिए ।

प्रकाशित मिति : २०७५ पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *