दाङ, पुस ११ । दाङमा ट्रक र बस एक आपसमा ठोक्किदा बस चालकको मृत्यु भएको छ । दिल्लीबाट आएर बुटवल तर्फ जाँदै गरेको ना ६ ख ८४४४ नम्बरको बस र चन्द्रौटादेखि अत्तरिया तर्फ जाँदै गरेको ना ६ ख ५२६० नम्वरको ट्रक आपसमा ठोक्कीदा बसका चालक ४५ बर्षीय कृष्णबहादुर सारु मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृतक सारुमगरको पुर्खेउली घर साविक कोटवारा गागिस वडा नं. ७ तनहुँ भएपनि हाल उनी बाँकेको कोहलपर नगरपालिका वडा नं. ११मा बस्दै आएका थिए ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत बुधवार दिउँसो सवा १ बजेतिर दाङको लमही नगरपालिका वडा नं. ८ को गणेशपुरमा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परि गम्भीर घाइते भएका बसका चालक सारुमगरको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रकका चालक सहित ट्रक र बस प्रहरीको नियन्त्रणमा छन् ।