२०८१ फाल्गुन ६ गते मङ्गलवार

निर्वाचन क्षेत्र विकास कोषको ६० प्रतिशत रकम शिक्षामा


शिवराज पन्थी
गढवा, १० पुस ।
निर्वाचन क्षेत्र विकास कोषको ६० प्रतिशत बढी रकम शिक्षा क्षेत्रमा लगानी गर्ने कार्यक्रम बनाएर घोषणासमेत गरिसकेका प्रतिनिधि सभाका सांसद मेटमणि चौधरीले पुनः तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ मा परेका योजना र रकमको विवरणसहित विद्यालय दौडाहा अभियानमा लागेको बताएका छन् ।

नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत करिव पौने आठ करोडको हाराहारीमा दाङ जिल्लामा विद्यालय तथा अन्य योजनाहरुमा बजेट विनियोजन भएको सांसद चौधरीको बताए ।

सोमबारदेखि सांसद चौधरीले निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रहेका केही विद्यालयहरुमा तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत आफ्नो पहलमा बजेट पार्न सफल भएको भन्दै रकमसहितको पत्र हस्तान्तरण अभियानमा विद्यालय दौडाहामा लागेको गढवामा आयोजित एक कार्यक्रममा बताए । जस अन्तर्गत सोमबार देउखुरीको सतबरियास्थित राप्ती मावि, लमही नगरपालिकास्थित खिमबहादुर शाह मावि, गढवास्थित जनता मावि, राजपुरस्थित जनज्योति मावि बेला, साधारण मावि गंगदी र राजपुरकै दुलैयाको आधारभूत विद्यालयमा बजेट रकमसहितको पत्र हस्तान्तरण गरेका छन् ।

जस अनुसार शक्ति प्रावि लमहीमा ५० लाख, जनता मावि गढवामा ७० लाख, साधारण मावि गंगदी राजपुर भवन निर्माणार्थ ४० लाख, जनज्योति मावि बेला राजपुरको भवन निर्माण ४० लाख, आधारभूत विद्यालय दुलैहैया राजपुरमा ४० लाखको बजेट विनियोजन भैसकेको पत्र विद्यालयहरुलाई हस्तान्तरण गरेको बताए ।

थप महत्वपूर्ण योजनाको लागि प्रयास भइरहेको छ, यसपटक साविक राजपुर गाउँपालिकामा तुलनात्मक रूपमा अलि धेरै बजेट परेको छ, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको योजना राजपुर गाँउपालिकामा कम परेकोले तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत बजेट हाल्न आफूले केन्द्रमा पहल गरेको चौधरीको भनाइ छ । पौने आठ करोड रकममध्ये अन्य विकास निर्माणका विभिन्न योजनाहरुमा दाङ–देउखुरीका विभिन्न स्थानहरुका योजनाहरुमा विनियोजन भएको चौधरीले कार्यक्रममा जानकारी गराए ।

सोमबार देउखुरीको गढवास्थित जनता माध्यमिक विद्यालयका अध्यक्ष गणेश कुमार कुमालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सांसद चौधरीले सरकारी विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनेलिने विषयमा प्रतिवद्धता गराए । विद्यालयमा शिक्षकहरु र घरमा अभिभावकहरुले विद्यार्थीलाई असल संस्कार सिकाउनु पर्नेमा उनले जोड दिए । ‘विद्यालयहरुमा पढाइको गुणस्तर बृद्धि गर्नुस्, राम्रो नतिजा ल्याउनुस्, बजेट अभावमा तड्पिनु पर्दैन’ उनले शिक्षकहरुलाई आह्वान गर्दै भने ।

यसैगरी राजपुरस्थित जनज्योति मावि बेलाका अध्यक्ष अमरराज गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी र नेकपाका नेताहरुको समेत सहभागिता रहेको थियो । यसैगरी मंगलबार पनि देउखुरीका विभिन्न विद्यालयहरुमा बजेट रकमको पत्र हस्तान्तरणसहित अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सांसद चौधरीले बताए ।

 

प्रकाशित मिति : २०७५ पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *