२०७७ मङ्सिर १८ गते बिहिवार

मन्त्रीको आश्वासनपछि नयाँ घर बन्ने आस पलायो

बर्दिवास,  पुस १०। पातलो बोराले घेरिएको पालमा महोत्तरीका विभिन्न बस्तीमा बस्दै आएका मुसहरलाई अब आफ्नो नयाँ घर बन्ने आस पलाएको छ ।

प्रदेश नं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले स्थलगत अनुगमन गरी जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन भवन चाँडै बन्ने आश्वासन दिएपछि मुसहरमा नयाँ घरमा बस्न पाइन्छ कि भन्ने आश पलाएको हो । “टहरा भत्काएर दुई वर्षदेखि पालमा बस्दै आएका छौँँ”, भङ्गाहा नगरपालिका–४ रामनगरस्थित मुसहरीटोलका जुडिया सादाले भने, “मन्त्रीको आश्वासनपछि नयाँ घर बन्ने आशा पलाएको छ ।”

मन्त्री यादवले भङ्गाहा नगरपालिकाका मुसहर बस्ती पुगेर ६० मुसहर परिवारलाई कम्बल वितरण गरेका थिए । जनता आवास कार्यक्रमअन्तर्गत शहरी आवास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुरको रेखदेखमा नयाँ घर बन्न थालेका हुन् ।

“घर बनाउन प्रक्रियागत त्रुटि भएकै हो, त्रुटि केलाएर प्रदेश सरकारले निर्माण प्रक्रिया अघि बढाउँछ”, मन्त्री यादवले भने । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुर र अन्य सम्बद्ध निकायसँग समन्वय गरिने उनले बताए । सङ्घीय सरकारले आर्थिक वर्ष २०७३÷७४ र आव २०७४÷७५ मा गरी जनता आवास कार्यक्रमअन्तर्गत महोत्तरीमा एक हजार घर बनाउन प्रक्रिया अघि बढाएको हो । निर्माण प्रक्रिया झण्झटिलो भएकाले काम तीव्र गतिमा बढ्न नसकेको जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहको भनाइ छ ।

प्रकाशित मिति : २०७५ पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *