२०७७ फाल्गुन २१ गते शुक्रवार

‘नेपालको भरपर्दो सहयोगी जापान’ : अध्यक्ष प्रचण्ड


काठमाडौँ, पुस ९ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भरपर्दो सहयोगी राष्ट्रको रुपमा जापान रहेको बताएका छन  ।

हात्तिगौडा सेवा समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको समृद्धिमा नेपाल जापानबीचको मैत्रीपूर्ण सम्बन्ध’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको आर्थिक विकासमा जापान सरकारले उपलब्ध गराएको सहयोग महत्वपूर्ण र दीर्घकालसम्म सकारात्मक प्रभाव पार्ने खालको रहेको बताए ।

उनले नेपालको भौतिक पूर्वाधार, कृषि, शिक्षाका क्षेत्रमा जापानले विनासर्त सहयोग गरेको र नेपालको हितलाई केन्द्रमा राखेको उल्लेख गरे । कुटनीतिक सम्बन्ध स्थापना भएको ६२ वर्षमा दुई मुलुकबीच जनस्तरमा समेत सम्बन्ध विस्तार भएको भन्दै उनले आगामी दिनमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

नेपाल र जापानबीच स्वभावैले गहिरो भावनात्मक सम्बन्ध रहेको स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले विपद् व्यवस्थापनमा जापान सरकारले भित्र्याएको प्रविधि र ज्ञान नेपालका लागि अनुरकणीय रहेको बताए ।

नेपाल पनि प्राकृतिक विपद्को उच्च जोखिममा रहेको भन्दै उहाँले विपद्सँग जुध्न र त्यसको क्षति कम गर्न जापान सरकारले गरेको प्रयास उत्कृष्ठ र ग्राह्य हुने उल्लेख गरे  ।

गौतम बुद्धको जन्मस्थल रहेको नेपाल र बुद्ध धर्मावलम्बीको ठूलो हिस्सा रहेको जापानबीच शान्ति, भातृत्वका आधारमा पनि उच्चस्तरको सम्बन्ध रहेको बताए । अध्यक्ष दाहालले युद्धको विभीषिका र शान्तिको महत्वका बारेमा जापान जानकार रहेको र विभिन्न अप्ठ्यारासँग जुध्दै सहकार्यका आधारमा समाज र विश्वलाई अगाडि बढाउन प्रयास गरेको विषय हाम्रा लागि पनि प्रेरणाप्रद छ उनले भने ।

उनले आगामी दिनमा दुई देशको सम्बन्ध अझै प्रभावकारी भएर जाने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल र जापान सम्बन्धकमा विविधि आयामका बारेमा चर्चा गरिएको समाजका सचिव रामनाथ राईले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *