२०८१ चैत्र ४ गते सोमवार

सर्वोच्च जाने तयारीमा विपक्षी गठबन्धनका ५ दल

काठमाडौं, जेठ ९। प्रतिनिधि सभा विघटनविरूद्ध रिट लिएर विपक्षी गठबन्धनका ५ दल सर्वोच्च जाने तयारीमा छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू सर्वोच्च जाने तयारी छ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने तयारीमा जुटेका हुन्। सांसदहरूलाई नागरिकता लिएर आउनसमेत भनिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित सांसदहरू सर्वोच्च जाने तयारीमा छन्।

शनिबार बसेको विपक्षी ५ दलले प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका थिए।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको खनाल–नेपाल पक्षका २६, जनता समाजवादी पार्टीको यादव पक्षका १२ र राष्ट्रिय जनमोर्चाका १ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका थिए ।

शुक्रबार राति सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी चुनावको मिति घोषणा गरेकी थिइन्।

वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै उक्त निर्णय गरिएको भन्दै दलहरूले विरोध गरिरहेका छन्। देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित वैकल्पिक सरकारको दाबी गरेका थिए। साथै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसद आफूसँग रहेको भन्दै वैकल्पिक सरकारको दाबी गरेका थिए।

तर राष्ट्रपति कार्यालयले दुवै जनाको दावी नपुग्ने देखिएको जवाफ दिएको थियो। त्यही मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *