तुलसीपुर, पुस १ ।
हर्न निषेधित क्षेत्र तुलसीपुर बजारबाट १५ दिनमा अटेरी गरी हर्न बजाउने झण्डै तीनसय सवारी साधनमाथि कारवाही भएको छ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव निरीक्षक चन्द्रबहादुर केसीका अनुसार १५ दिनको अवधिमा तुलसीपुर बजार क्षेत्रमा मात्रै झण्डै तीनसय सवारी साधन कारवाहीमा परेको जानकारी दिए ।
मंसिर १६ गतेदेखि तुलसीपुर उपमहानगरपालिकालाई हर्न निषेधित क्षेत्र घोषणा गर्दै अटेरी गर्ने सवारी चालकलाई कारवाही सुरु गरिएको हो । ट्राफिक प्रहरीका अनुसार यो अवधिमा तुलसीपुर बजारबाट १३ वटा बसबाट ७ हजार ५ सय, २३ वटा ट्रकबाट ११ हजार ५ सय, ८ वटा ट्रेक्टरबाट ४ हजार, २६ वटा जीप कारबाट १३ हजार ५ सय, २ वटा अटोबाट १ हजार, ७३ वटा मोटरसाईकल बाट ३८ हजार ५ सय राजस्व संकलन भएको छ ।
तर २९३ सवारी कारवाहीमा परेकामध्य हालसम्म जम्मा १४३ वटा साधनले मात्रै जरिवाना तिरेका छन् । अन्य साधनको कागजपत्र ट्राफिक प्रहरी कार्यालयमै राखिएको हुँदा उनीहरु क्रमशः आएर जरिवाना तिर्दै कागज लैजाने गरेको ट्राफिक प्रमुख केसीले बताए ।
तर उनले अझै १० वटा बस, १९ वटा ट्रक, ४ वटा टेक्टर, २७ वटा जीप कार, १५ वटा अटो र ७५ वटा मोटरसाईकल धनीहरुले राजस्व बुझाउन बाँकी नै रहेको छ । सबै सवारी धनीले अनिवार्य रुपमा राजस्व बुझाएपछि मात्र कागजपत्र पाउने केसीले बताए । १५ दिनको अवधिमा ती सबैबाट जरिवाना संकलन भएमा डेढ लाख राजस्व संकलन जानकारी दिइएको छ ।