घोराही, मंसिर २९ ।
बलात्कारको मुद्दामा दाङमा दुईजनालाई ८ र ५ बर्ष कैद सजाय तोकिएको छ । दाङ देउखुरी जिल्ला अदालतले १५ बर्षिया बालिकालाई बलात्कार गरेको ठहर गर्दै तुलसीपुर उपमहानगरपालिका ९ का २६ बर्षिय राजेश परियारलाई आठ बर्ष कैदको फैसला गरेको हो ।
न्यायाधीश हेमन्त रावलको इजलासले मंसिर २७ गते परियारलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र पीडितलाई ४० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन महिला बालबालिका कार्यालयलाई आदेश दिएको हो ।
पीडित बालिकालाई परियारले २०७४ फागुन २७ गते तुलसीपुरस्थित एक होटेलमा लगेर बलात्कार गरी भारततर्फ लैजाने क्रममा फागुन २९ गते गिरफ्तार गरेको थियो । यसैबीच ८ वर्षीया बालिका बलात्कार कसुर ठहर गर्दै जिल्ला अदालतले मंसिर २५ गते बबई गाउँपालिका वडा नम्बर ६ का ६९ वर्षीय बुद्धिराम थापालाई पाँच वर्ष कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पाँच वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । आरोपितले बैशाख १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले बैशाख १७ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।