तुलसीपुर, मसिर २९ ।
नेपाल नेत्रज्योति संघ दाङ दाङका सभापति कृष्णकुमार गिरीले अब आँखासम्बन्धी सबै उपचार सेवा जिल्लामै दिने तयारी गरेको बताएका छन् । शनिबार तुलसीपुरमा रिपोर्टर्स क्लव दाङले आयोजना गरेको साक्षात्कार तथा नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सम्मान कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघ दाङका नवनिर्वाचित सभापति कृष्णकुमार गिरीले उक्त कुरा बताएका हुन ।
उनले संघले सञ्चालन गरेका तीनवटै आँखा अस्पतालहरुलाई पाँच बर्षभित्र सेकेन्डरी बी लेबलको अस्पताल बनाउने बताए । उनले अन्धोपन निवारणका लागि विगतका बर्षहरुमा दिइरहेको सेवालाई निरन्तरता दिदै थप नयाँ सेवा सुविधाहरुलाई जनताका माझ पु¥याउने प्रयासमा आफूहरु लागेको बताए ।
‘संघले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजअन्तर्गतका अस्पतालमा फ्याको प्रविधिको तालिम केन्द्रको रुपमा विकास गर्ने, आँखा स्वास्थ्य कार्यक्रमको विकासको लागि स्थानीयस्तर, प्रदेशस्तर र केन्द्रीयस्तरमा पैरवी गर्ने कार्यलाई निरन्तरता दिएको बताए । उनले आगामी पाँच वर्षका लागि दातृ निकाय समक्ष थप परियोजना प्रस्ताव पेश गर्ने तयारी गरेको बताउँदै आँखा अस्पतालहरुको भौतिक विकासका लागि पनि आफूहरु लागिपरेको बताए । केन्द्रीय सदस्यसमेत रहेको गिरीले संघले हाल नेपालभरि १८ वटा आँखा अस्पताल र सबै जिल्लामा आँखा उपचार केन्द्र सञ्चालन गरी सेवा दिईरहेको बताए ।
कार्यक्रममा संघका सदस्य सुरेन्द्र बहादुर खड्काले संघद्वारा सञ्चालन भएका राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पतालमा दृष्टिविहीनतालाई कम गर्न अस्पतालहरुबाट अत्याधुनिक सेवाहरु दिएको भन्दै सेवालाई प्रभावकारी बनाउन लाग्ने बताए । रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले पछिल्लो समयमा नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालन भएका आँखा अस्पतालहरुले दिएका सेवाहरु प्रभावकारी भएको भन्दै संघले सञ्चालन गरेका गतिविधिहरुले संघको गरिमा बढेको बताए ।
उनले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा संघ लोकप्रिय बन्दै गएको बताए । कार्यक्रममा संघका नवनिर्वाचित सभापति कृष्णकुमार गिरी, सदस्यहरु सुरेन्द्रबहादुर खड्का, चिरञ्जीवि रिजाल, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण रिपोर्टर्स क्लव दाङका सचिव ध्रुवराज न्यौपानेले गरेका थिए ।