२०८१ जेष्ठ १३ गते आइतवार

दलित पत्रकार सङ्घको महाधिवेशन फागुन २८ मा बुटवलमा हुने

बुटवल,फागुन १६ । राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ ।

देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।

दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारको अधिकारका निम्ति स्थापित सङ्घको महाधिवेशनको तयारी तीव्ररूपमा भइरहेको उनले बताए । महाधिवेशनमा साङ्गठनिक छलफल, पत्रकारिता र समावेशिता लगायत विषयमा छलफल गर्नुका साथै नयाँ नेतृत्व चयन हुनेछ ।
सघंमा देशभरका दुई हजारभन्दा बढी दलित समुदायका पत्रकार आवद्ध छन् । जसमा हालसम्म ६० जिल्ला शाखा छन् भने काठमाडौँ उपत्यकासहित सात प्रदेश समिति छन् ।

महाधिवेशनमा ७७ वटै जिल्ला र सबै प्रदेशबाट प्रतिनिधिको सहभागिता हुनेछ ।

महाधिवेशनमा दलित आन्दोलनमा सक्रिय नेता एवं लेखकरपत्रकार टीआर विश्वकर्माको सम्मानमा स्थापित ‘टीआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार’ र राणाशासनका विरुद्ध आन्दोलन चलिरहँदा कुचीकारको काम गर्दै कारागारबाट गणेशमान सिंहलगायत नेताको चिठ्ठी आदानप्रदान गर्ने राममाया च्यामेका सम्मानमा स्थापित ‘राममाया च्यामे लोक पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ ।

त्यसैगरी महाधिवेशनमा नेपाली काँग्रेसका संस्थापक सदस्य एवं प्रचार, लेखक तथा नेपाली चलचित्रका पहिलो निर्देशक देवव्रत परियार (डिबी परियार) को सम्मानमा स्थापित ‘देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार’ र समाजसेवी रामेश्वर शिवाद्वारा स्थापित ‘परशु–सवरी’ पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ ।

दलित समुदायका पत्रकारको पेशागत हकहित प्रवद्र्धन, पेशागत सुरक्षा, क्षमता अभिवृद्धिलगायतका रचनात्मक काम गर्ने उद्देश्यले विसं २०६७ मा सङ्घको स्थापना गरिएको हो ।

सङ्घले सरकारी तथा निजी सञ्चारमाध्यम विषयवस्तु र सहभागिताका हिसाबले समावेशी हुनुपर्ने, दलित समुदायद्धारा सञ्चालित आमसञ्चारमाध्यम नवीकरणमा कर छुट गर्नाका साथै ती सञ्चारमाध्यमलाई सरकारले विशेष सहुलियत दिनुपर्नेलगायत सवाल उठाउँदै आएको छ ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *