तुलसीपुर,माघ २६ । जंगल बीचको तलाउमा मृत अबस्थामा फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।
मृतक घोराही उपमहानगरपालिका वडा नं.८ दुन्द्राका ३९ बर्षीय अमन भनिने भूपेन्द्र महरा रहेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।
महरा घोराही ५ स्थित थारुवान जंगलको बीच पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका थिए ।
वन गएका स्थानीय महिलाहरुले शनिवार मासिनको शव पोखरीमा डुबेको अवस्थामा देखेपछि घरमा आएर परिवारका सदस्यहरुसंग कुरा गरेका थिए ।
त्यसपछि त्यो कुरा वडा नं.५ का अध्यक्षसम्म पुगेपछि उनैले प्रहरीलाई सूचना दिएपछि सोमबार बिहानै प्रहरी घटनास्थल पुगेको थियो ।
सोमबार दिउँसो महराको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पताल पु¥याएको थियो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकेन्द्र रिजालले महरा गत मंसिरदेखि नै बेपत्ता रहँदै आएको कुरा परिवारका सदस्यले जानकारी दिएको बताए ।
शरिरमा कुनैपनि घाउ चोट नहुनु, घटनास्थलको वरपर समेत त्यस्तो कुनै सुराकहरु फेला नपरेको हुँदा प्रारम्भीक अनुसन्धानबाट उनको हत्या भएको जस्तो नदेखिएको डिएसपी रिजालले बताए ।
तर, पोष्टमार्टम रिपोर्ट पछि मात्रै तथ्य कुरा भन्न मिल्ने प्रहरी प्रबक्ता रिजालले जानकारी दिए ।
घटनाबारे अनुसन्धान जारी रहेको पनि उनले बताए ।