तुलसीपुर,माघ १६ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का सन्देश विक हिजो आज नियमित विद्यालय जान थालेका छन । मावी कालाखोलामा कक्षा ५ मा अध्ययनरत विक विद्यालयमै दिवा खाजा पाउन थालेपछि नियमित विद्यालयमा जान थालेका हुन ।
विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा आएदेखि सन्देश जस्ता दर्जनौँ विपन्न बालबालिकाहरु नियमित विद्यालय आउन थालेको विद्यालयका प्रधानाध्यापक राजिव ओझाले बताए ।
उनले भने,-कति विद्यार्थीले त भोक लाग्यो भन्दै छुट्टि माग्दै घर जाने गरेका थिए,तर सरकारले विद्यालयमै दिवा खाजा कार्यक्रम सुरु गरेपछि बिदा माग्न पनि छाडे ।
अहिले विद्यार्थीहरु घरबाटै खाजा लिएर आउने गरेका छन,हामीले विद्यार्थीको उपस्थिती सङ्याका आधार खाजा सट्टा पैसा प्रदान गरिरिहेका छौँ । उनले दिवा खाजा कार्यक्रमले विद्यालयमा अहिले विद्यार्थी सङ्यासँगै शैक्षिक गुणस्तर पनि निरन्तर सुध्रिदै गएको बताए ।
यता विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित गराउनका लागी सञ्चालन गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले जनाएको छ ।
उपमहानगरका शिक्षा शाखा अधिकृत चन्द्र भण्डारीले तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटै वडाका सामुदायीक विद्यालयहरुमा यो कार्यक्रम प्रभावकारी बनेको बताए ।
उनका अनुसार यो कार्यक्रम तुलसीपुरका ८३ वटै सामुदायीक विद्यालयमा शिशु देखि ५ कक्षा सम्म सञ्चालन भैरहेको छ ।
कार्यक्रम सुरु भएपछि केही समय विद्यालय मै खाजा खुवाउने गरिएको थियो,उनले भने,-तर विद्यार्थीहरुलाई खुवाउने खाजा गुणस्तरीय भएन भन्ने गुनासो आएपछि अहिले विद्यार्थीहरुले घरबाटै खाजा लिएर जाने गर्दछन ।
उनका अनुसार गत वर्ष देखि नै विद्यार्थीको उपस्थिती सङ्या अनुसार प्रति विद्यार्थीलाई दिनको १५ रुपैयाका दरले खाजाको सट्टामा पैसा दिने गरिएको छ ।
दिवा खाजा कार्यक्रम सञ्चालनपछि विद्यालयमा विद्यार्थीको सङ्या उत्साहजनक रहेको शिक्षा अधिकृत भण्डारीले बताए ।
दिवा खाजा कार्यक्रमका लागी तुलसीपुर उपमहानगरपालिकामा गत वर्ष ४ करोड ७८ लाख ७४ हजार बजेट विनियोजन गरिएको थियो भने यस वर्ष २ करोड ४७ लाख २५ हजार बजेट विनियोजन गरिएको उनको भनाई छ ।