दाङ, माघ २ । रुकुम पूर्वमा जिल्ला समन्वय प्रमुख गेजेन्द्रबहादुर वलीसहित पाँच जना जुवाडेलाई प्रहरीले जुवाको खालवबाट पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ पातुखोलास्थित भरत घर्तीको घरमा जुवा खेलिरहेको अवस्थामा शुक्रवार दिउँसो तीन बजेतिर उनीहरुलाई पक्राउ गरिएको रुकुम पूर्वका निमित्त प्रहरी प्रमुख, प्रहरी निरिक्षक कपिल शाहीले जानकारी दिए ।
पक्राउ पर्नेमा रुुकम पूर्वका जिल्ला समन्वय समिति प्रमुख वली, पृथा उत्तरगंगा गाउँपालिका वडा नं. ५ का २९ बर्षीय सुभाश घर्ती मगर, सोही गाउँपालिका वडा नं. १० का ६४ बर्षीय जितेन्द्र बुढा मगर रहेका छन् । त्यस्तै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. ७ का ४२ बर्षीय लिलबहादुर पुन र मुसिकोट नगरपालिका वडा नं. १ का ३७ बर्षीय कमल गिरीपनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट २५ हजार नगद, तीन जोडी तास समेत बरामद भएको शाहीले बताए । गोप्य सूचनाका आधारमा घर्तीको घरमा छापा मार्दा जिल्ला समन्वय प्रमुख वलीसहित पाँच जना पक्राउ परेको र उनीहरुलाई थुनामा राखेर आवश्यक अनुसन्धान भइरहेको शाहीले जानकारी दिए । पक्राउ परेका पाँचै जना बिरुद्ध जुवा मुद्दा चलाउने तयारी गरिएको शाहीले जानकारी दिए ।