
दुबै जनालाई ७ दिनको म्याद थप
तुलसीपुर, असार ४ ।
सामाजिक सञ्जाल ‘फेसबुकमा’ एक युवतीमाथि चक्कु देखाउँदै आक्रमण तथा कुटपिट गरेको भिडियो खिच्ने र त्यो सार्वजनिक गर्ने दुई जनालाई प्रहरीले पक्राउ पछि कानुनी कारबाहीको प्रक्रिया सूरु गरेको छ ।
मंगलबार बेलुकी पख भिडियो सार्वजनिक भए लगतै त्यसबारे एकै छिनमा तीब्र आलोचना र प्रतिक्रियाहरु सार्वजनिक भएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार जिल्लाका साथै बाहिरबाट बिभिन्न जिल्लाका पत्रकारदेखि अधिकारकर्मीसमेतले सार्वजनिक भिडियोको लिंक पठाउँदै तत्काल ती ब्यक्तिलाई नियन्त्रणमा लिन आग्रह गरेका थिए ।
इप्रका प्रमुख पराजुलीले भिडियो देख्नासाथ बिभिन्न ब्यक्तिको आग्रहका आधारमा तत्काल त्यसबारे एक्सन थालेका थिए । भिडियोको अनुसन्धान र विश्लेशन गरि तत्काल डिएसपी पराजुली प्रहरी निरीक्षक अषिम हमालसहितको टोलीसहित ंंंंसम्बन्धित ब्यक्तिको खोजीका लागि खटिएका थिए ।
डिएसपी पराजुली नेतृत्वको टोलीले युवतिलाई एकान्तस्थल जंगलमा लगेर चक्कु देखाउँदै आक्रमण तथा कुटपिट घटनामा संलग्न तुलसीपुर उपमहानगरपालिका –२ भमकेका २४ बर्षीय रमेश ठाडा मगरलाई राति साढे ११ बजे उनकै घरबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले भिडियो खिच्ने सोही ठाउँका २१ बर्षीय जिवराज खत्रीलाइ पनि पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबै जना बिरुद्ध बुधबार नै ७ दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक हमालले बताए ।
साथै मुख्य आरोपी मानिएका मगरको घरबाट ‘नाइट्राजिएम’ नामक लागुऔषध सेवनका कारण लठ्ठ अवस्थामा फेला परेका रमेशलाई प्रहरी निरीक्षक हमालसहितको प्रहरी टोलीले भिडियो देखाएपछि उनले केही नबोली घटना स्वीकार गरेका थिए ।
‘ हो, यो मैले नै गरेको हो र उ मेरो श्रीमति हो,’ रमेशको भनाइ उद्धत गर्दैै हमालले भने ‘उस्ले मैले भनेको नमानेपछि र मलाई छोडेर अरु संग सम्बन्ध गाँस्न थालेपछि मैले उस्लाई चक्कु प्रहार गर्दै कुटपिट गर्दै उस्लाई थर्काएको हो ।’
रमेशले त्यसरी अश्लिल गाली गलौज गर्दै चक्कु उज्याउँदै पटक/ पटक आक्रमण गर्दै गर्दा पीडिट ती युवतिले ‘अब गर्दिन’ भन्दै आँफुलाई आक्रमण नगर्न अनुनयविनय गरि रहेको भिडियोमा देखिन्छ । प्रहरीका अनुसार उनी तुलसीपुर – ६ की २१ बर्षीया युवती हुन । रमेशले ती युवतिलाई आफ्नो ‘श्रीमति’ भएको दाबी गरेपनि युवतिको आमाले भने युवकलाई नचिनेको तथा घटना बारे कही पनि थाहाँ नभएको प्रतिक्रिया प्रहरी समक्ष दिएकी छन् ।
‘ उनीहरुका बीचमा बिगतमा प्रेम सम्बन्ध स्थापित रहेको तथा युवति आँफै केटालाई भेट्न उनको घर नजिकको जंगल पुगेको भन्ने खुल्छ,’ प्रहरी निरीक्षक हमालले भने ‘ तर, पछिल्लो समय युवति रुपन्देही तिर गएको हुँदा म रिसाएर भिडियो आँफैले आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हुँ भन्ने रमेशले बयान गरेको छ ।’
अनुसन्धान बाट रमेशले सार्वजनिक गरेको भिडियो तीन महिला पहिले अर्थात गत चैत महिनको भएको खुल्न आएको छ ।
प्रहरी हिरासतमा रहेका रमेशले त्यो भिडियो एक जना भाइ नाता पर्ने ब्यक्तिलाई खिच्न लगाएको प्रहरीलाई बताएका छन् ।
‘युवतिलाई पटक/ पटक चक्कुले आक्रमण गर्दै वा चक्कु उज्याउँदै कुटपिट गरेको भिडियो अर्का एक जना भाइ भन्ने युवकलाई बोलाएर खिच्न लगाएको खुल्छ,’ प्रहरी निरीक्षक हमालले भने ‘ यसरी भिडियो खिचेर राख्नुको मक्सत मैले भनेको नमाने तेरो इज्जत लिलाम गरिदिन्छु भन्दै बल्याक मेलिङ गर्ने रहेको खुल्छ ।’
पछिल्लो समय दुई जनाको बीचको सम्बन्धमा थप चिसोपना बढेपछि तथा युवतिले वास्ता गर्न छोडेपछि बदनाम गर्ने उदेश्यका साथ रमेशले आफ्नै फेसबुक आइडीबाट मंगलबार बेलुकी भिडियो सार्वजनिक गरेको स्वीकार गरेका छन् ।
डिएसपी पराजुलीका अनुसार घरमा बुवा र दुई दिदी संगै बस्दै आएका लागुऔषधका अम्मली रमेशले घर परिवारका सदस्यलाई पनि आजित तुल्याएका थिए ।
‘ दिदीहरुलाई पनि चक्कु देखाउने हान्ने वा आक्रमण गर्ने गरेको भन्ने प्रारम्भीक अनुसन्धान बाट खुल्छ,’ डिएसपी पराजुलीले भने ‘एक जना दिदीको हातमा घाउ खत देखिएको छ त्यसबारे पनि अनुसन्धान हुने छ ।’ घर परिवारका सदस्काय अनुसार दिनभर लापत्ता हुने रमेश रातिमा जहिले ११ बजेपछि मात्रै खाना खान आउने गर्थे ।
घर परिवारका सदस्यपनि रमेशको ब्यबहारले आजिद भएर प्रहरीले केही समय हिरासतमा राखोस र सुधारेर पठावस भन्ने इच्छा ब्यक्त गरेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
पक्राउ परेका रमेश बिरुद्ध लागु औषधका साथै अपमान जनक तथा अमानविय ब्यबहार गरेको लगाएतका शिर्षकमा मुद्दा चलाउने गरि वकिल संग परामर्ष भइ रहेको प्रहरी अधिकारीले बताएका छन् ।
डिएसपी पराजुलीले समाजमा यस्ता अराजक गतिबिधि भएमा तत्काल प्रहरीलाई सम्पर्क गर्न तथा संभावित दुर्घटनाको जुखिम बाट जोगिन सबैमा अपिल गरेका छन् ।
