तुलसीपुर, पुस २८ । आफु लुटिएको भनेर प्रहरीलाई झुटो खवर गर्ने एक युवकलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ६ का २५ बर्षीय हुकुम पुन मगर झुटो कुरा गरेर प्रहरीलाई उल्लु बनाउन खोजेपछि पक्राउ परेका हुन ।
मगरले पुस २६ गते राति साढे ९ बजेतिर आफैं जिल्ला प्रहरी कार्यालयमा पुगेर आफुलाई घोराहीको शहिद गेटमा युवाहरुको एक समुहले आँखामा खुर्सानीको धूलो छर्केर चार लाख ३६ हजार रुपैंया लुटेर लगेको बताएका थिए ।
मगरले आफैं प्रहरी कार्यालयमा पुगेर लुटिएको बेहोरो अवगत गराउँदै सहयोग मागेपछि प्रहरीले मगरलाई समेत साथमै लगेर तत्कालै घटनास्थलमा पुगेर अनुसन्धान गर्दा उनले झुटो बोलेको पत्ता लागेपछि उनी पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय दाङले मंगलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले मगरले तिर्नुपर्ने पैंशा नतिर्नका लागि आफैं नाटक गरेर प्रहरीलाई उल्लु बनाउन खोजेपनि आँफै फसेको जानकारी दिए ।
एसपी चन्दले रोल्पाको फगाम निवासी हरि पुनलाई तिर्नुपर्ने ४ लाख रुँपैंया तिर्नु नपरोस भनेर आँफैं खुर्सानीको धुलो किनेर आँफैले आँफैलाई छर्किर झुटो नाटक गरेको खुल्न आएको जानकारी दिए ।
प्रहरीले गलत सूचना गरि झुट्टा अपबाफ फैलाउन खोज्ने मगर बिरुद्ध शान्ति बिरुद्धको कसुरमा मुद्दा चलाएर आवश्यक कारवाही थालेको छ ।