२०८१ भाद्र २६ गते बुधवार

कलाकार लेखराजको ‘पहिलो पाइला’ सार्वजनिक

काठमाडौँ,पुस २६ । कलाकार लेखराज गिरिको गीति सङ्ग्रह ‘पहिलो पाइला’सार्वजनिक भएको छ।

बिभिन्न विषयवस्तु समावेश गरिएका ५ वटा गीतहरुको सङ्ग्रह  राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

राप्ती समाज काठमाडौँको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ गीतकार, प्राध्यापक डा कृष्णहरि बराल, सङ्गीतकार सन्तोष श्रेष्ठ, गीतकार भावेश भुमरीलगायत अतिथिहरुले लोक, आधुनिक गीतगजल सङ्ग्रह ‘पहिलो पाइला’संयुक्त रुपमा सार्वजनिक गरेका हुन ।

कार्यक्रममा गीतकार भावेश भुमरीले गीरिका रचनामा मध्यपश्चिमको स्थानीयपन झल्किएकोमा प्रशंसा गर्दै नागरिकका दुखसुख र प्रेमका विषय पनि गीति सङ्ग्रहमा समावेश हुनु सकारात्मक पक्ष भएको टिप्पणी गरे ।

गीरि आफैँ सङ्गीतकार र गीतकारका रुपमा प्रस्तुत भएका कारण कतिपय स्थानमा गीत पक्ष कम्जोर जस्तो लागे पनि सङ्गीत पक्ष बलियो भएका कारण सम्हालिएको उनको भनाइ थियो ।

नयाँ प्रस्तुतिमै परिपक्वता देखिएको उल्लेख गर्दै गीतकार भुमरीले आगामी दिनमा अझ नयाँ विषय र भावका गीत लिएर आउनका लागि शुभकामना दिए ।

सङ्गीतकार सन्तोष श्रेष्ठले गिरिका रचनाहरुमा विविधता समावेश भएको टिप्पणी गर्दै सङ्गीतमा प्रचलित नियमको पलना भएको बताए ।

फरक पेसा र भूमिकामा रहेर पनि गीतसङ्गीतमा प्रवेश गरेकोमा गिरिलाई बधाई दिँदै निरन्तरताका लागि पनि श्रेष्ठले अनुरोध गरे ।

खर्चिलो भएका कारण पनि सर्जकहरुले गीतसङ्गीतमा निरन्तरता दिन नसकेको उल्लेख गर्दै गिरिका रचनामा चाडपर्व, विकासनिर्माण, मायाप्रेमका विषयमा शब्द र सङ्गीतमा तादाम्यता मिलेको उनको भनाइ थियो ।

वरिष्ठ गीतकार प्राध्यापक डा.कृष्णहरि बरालले लोक र आधुनिक पन मिसिएका कारण गिरिका गीतमा सैद्धान्तिक पक्षलाई केलाएर कम्जोरी औँल्याउन नहुने धारणा राखे ।

गीति सङ्ग्रहमा भएको गजलको सन्दर्भमा बरालले गजलको संरचनाको पूर्ण पालना नभए पनि त्रुटिको रुपमा लिन नहुने बताए ।

हुम्मामा रेल पुग्न थालेकोदेखि दसैँतिहारका विषयले गीति सङ्ग्रहलाई बलियो बनाएको उल्लेख गर्दै डा बरालले स्थानीय भाषाका केही शब्दावलीले गीतमा मीठास थपेको बताए ।

अरु मुलुकमा कुनै पनि सिर्जना सार्वजनिक गर्नु अघि नै समीक्षा तथा सुझाव लिने चलन भए पनि नेपालमा त्यसको अभ्यास नभएको उल्लेख गर्दै बरालले आगामी दिनमा सिर्जना ल्याउँदा सरोकारवालासँग थप छलफल गर्न पनि सुझाव दिए ।

गीति सङ्ग्रहको (रेलको बाटो पुग्दैछ) बोलको गीतमा सुरज पण्डित र गिरिको संयुक्त शब्द तथा सङ्गीत रहेको छ भने माण्डवी त्रिपाठी, अंकित न्यौपाने, रीता केसी, सुरज पण्डित, राज सिग्देल, शान्ति सन्देश कंडेलको स्वर रहेको छ ।

 

प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *