दाङ, पुस २४ । पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङले शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधान पठाएको छ।
दाङको क्षेत्र नं। ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, क्षेत्र नं। १ बाट निर्वाचित मेटमनि चौधरी, नेकपा दाङका इञ्चार्ज जिवन गौतम, दाङका अध्यक्ष टिकाराम खड्का, सचिव सुवाश पुन लगाएतका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेर नेपालको संविधान पठाएका हुन ।
प्रमुख जिल्ला अधिकारीलाई त्यो संविधान बुझाउँदै नेकपा दाङका अध्यक्ष खड्काले बर्तमान असंबैधानिक काम तथा सबै प्रकारका प्रतिगामी षडेन्त्रहरुलाई असफल पार्ने बताए ।
त्यसका लागि संघर्ष गर्न नेपाली जनता सक्षम रहेको हुँदा समयमै आफ्नो गलत कदम सच्याउन र प्रतिनिधिसभा पुनःस्थापना गर्न चेतावनी दिए ।
‘संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नदिएको हुँदा पुनः संविधान अध्यन गर्नुहोस भनेर प्रधानमन्त्रीलाई संविधानको धाराहरु पठाएका छौं,’ अध्यक्ष खड्काले भने ‘ संविधानलाई क्रियासिल बनाउने पक्षमा आउनुहोस, सच्चिने अवसर प्रदान गर्छौंं।’
तर, उनले त्यसका लागि प्रधानमन्त्रीले असंबैधानिक कदमका लागि पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना गर्नुपर्ने ज्ञापन पत्र बुझाउने क्रममा बताएका थिए ।
प्रचण्ड– नेपाल समुहले देशका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रतिनिधि सभा विघटनको विरोधमा प्रधानमन्त्रीलाई विरोध पत्र र नेपालको संविधान पठाइएको जानकारी दिएको छ ।