तुलसीपुर, पुस १८ । दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् ।
लमही नगरपालिका वडा नं. २ का ८ बर्षीय बालक शिरिस गिरी, ३० बर्षीय मिठ्ठु चौधरी, ५० बर्षीया धनिया चौधरी र लमही वडा नं. १ की ४० बर्षीया हिरादेबी चौधरी जंगली बँदेलको आक्रमनबाट घाइते भएका छन् ।
घाइते मध्य शिरिस र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बुटवल रेफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार धनिया र हिरादेबी चौधरीको लमहीमै उपचार भइरहेको छ ।
अधिकाँस घाइतेहरुलाई खुट्टा र तिघ्रामा बँदेलले आक्रमण गरि गहिरो घाउ खत बनाएको छ ।
बुटवल रेफर गरिएका शिरिस र मिठ्ठुलाई भने ढाड छाति लगाए शरिरका विभिन्न भागमा घाउ चोट लागेको छ ।
प्रहरी निरिक्षक पौडेलले वन खुलेपछि सुकेका दाउरा र माघीको तयारीका लागि मालुका पात लिन भनेर लमही १ स्थित सिङ्गेखोला सामुदायिक वनमा गएको समयमा जंगली बँदेलले आक्रमण गरेर घाइते तुल्याएको जानकारी दिए ।
‘बँदेलले बच्चा जन्माएको रहेछ,’ पौडेलले भने ‘बँदेलले आफ्ना बच्चा लिन आए भन्ने ठानेर आक्रमण गरेको भन्ने छ।’
शनिवार माघी पर्वको तयारीका लागि भन्दै लामो समयको अन्तराल पछि वन खोलिएको प्रहरीले बताएको छ ।
तस्विर – शिबु खनाल ।