काठमाडौं,पुस २ । अपांगता भएका ७० हजार विद्यार्थीलाई वैकल्पिक अध्ययनमा सहभागी हुन समस्या देखिएको छ ।
वैकल्पिक विधिको शिक्षण क्रियाकलापमा यस्ता विद्यार्थीको सिकाइमा सहयोगी हुने शिक्षण सामग्री नै पर्याप्त नभएकाले समस्या भएको हो ।
शिक्षण सामग्रीको अभावमा बालबालिकालाई वैकल्पिक शिक्षण सिकाइ गतिविधिमा सहभागी हुन समस्या भएको छ ।
बहुअपांगता भएका बालबालिकालाई अझ धेरै समस्या छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्लास रिपोर्ट ०७५ अनुसार पूर्वप्राथमिक तहमा तीन हजार दुई सय ७०, आधारभूत तह (कक्षा १–८० मा ५२ हजार तीन सय ६६ र माध्यमिक तह (९- १२) मा १४ हजार पाँच सय ८९ अपांगता भएका बालबालिका अध्ययनरत छन् । तर, अनलाइन तथा वैकल्पिक विधिको शिक्षण क्रियाकलापमा उनीहरूको सिकाइमा सहयोगी हुने शिक्षण सामग्री पर्याप्त छैनन् ।
लगनखेलस्थित नमुना मछिन्द्र माविका प्रधानाध्यापक राधाकृष्ण महतले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गरेर सिकाउन कठिन रहेको, तर प्रयास जारी राखिएको बताए ।
नमुना मछिन्द्र माविमा तीन सय ६२ दृष्टिविहीन बालबालिका अध्ययन गर्ने र चित्र, नक्सा भएका पाठ तथा गणित विषय दृष्टिविहीनका लागि बुझाउन कठिन भइरहेको प्रधानाध्यापक महतले बताए ।