काठमाडौं, मंसिर ३० । राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दहालले स्वदेशी उत्पादनलाई प्राथमिकता र प्रर्वद्धन गर्नुपर्ने बताएकी छन् ।
नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला सामग्रीहरुको प्रदर्शनीको मंगलवार अवलोकन गर्दै उपाध्यक्ष दहालले स्वदेशी उत्पादनलाई सबैले माया गरी प्रवद्र्धन गर्नुपर्ने बताएकी हुन ।
कोरोना भाइरस ९कोभिड–१९० को विश्वव्यापी महामारीले नेपाली हस्तकला उद्योग नराम्रोसँग प्रभावित भएको भन्दै उपाध्यक्ष दहालले विश्वमा नेपालको पहिचान दिने हस्तकला व्यवसायलाई बचाउन विविध सहुलियत र राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिइन ।
कोभिड १९ बाट प्रभावित हस्तकला उद्योगको संरक्षणका लागि सरकारको पहलमा बैंक ब्याजदर घटाउने, सहुलियत कर्जा र पुनर्कर्जाको व्यवस्था, कच्चा पदार्थमा भन्सार छुटजस्ता व्यवस्था हुन सके व्यवसायीलाई सहज हुने उनले बताइन ।
त्यस्तै उनले महामारीले प्रभावित भएको हस्तकला व्यवसायलाई फेरि पहिलेकै अवस्थामा फर्काउन मैले सक्दो समन्वय र पहल गर्ने आश्वासन दिइन ।
नेपाली हस्तकला क्षेत्रले वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको सामग्री निर्यात गरिरहेको र ११ लाख युवाहरुलाई रोजगारी दिइरहेको उपाध्यक्ष दहालले जानकारी दिइन । नेपालमा उत्पादित हस्तकला सामग्रीको विश्व बजारमा आकर्षण र माग धेरै भएको उनले बताइन ।
विश्व बजारमा आकर्षण र माग भए पनि कोरोना महामारीले हस्तकलाको व्यापार व्यवसाय ठप्प भएकाले नेपाली हस्तकला क्षेत्रले करोडौंको घाटा व्यहोर्नु परेको उनको भनाइ थियो ।
हस्तकला उद्योगका दक्ष कालिगढहरुलाई पर्याप्त सेवा सुविधा र अवसर दिन नसक्दा विदेश पलायन हुने समस्या रहेको चर्चा गर्दै उपाध्यक्ष दहालले नेपाली हस्तकला क्षेत्रको विकास र प्रवद्र्धनका लागि राज्यले उत्पादित सामग्रीको बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने तर्क गरिन ।
कोरोना महामारीपछि विदेशबाट फर्किएका हजारौं बेरोजगार युवाहरुलाई हस्तकलासम्बन्धी सीप सिकाउन राज्यस्तरबाटै विभिन्न तालिम र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिदै उपाध्यक्ष दहालले स्वदेशी उत्पादनको वृद्धि हुनुका साथै नेपालको पुख्र्यौली सीप पनि हस्तान्तरण हुने विश्वास व्यक्त गरिन ।
स्थानीय तहसँग समन्वय गरेर देशैभरि हस्तकला महासंघको सञ्जाल विस्तार गर्न र हस्तकला व्यवसायलाई प्रवद्र्धन गर्न दहालले आयोजकलाई आग्रह गरिन ।
आफ्नो ४८ औं वार्षिकोत्सव तथा ९औं हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघले गत मंसिर २८ गतेदेखि ३० गतेसम्म थापाथलीमा हस्तकला प्रदर्शनीको आयोजना गरेको थियो ।