२०८१ भाद्र २३ गते आइतवार

१२३ अंकले घट्यो नेप्से, सर्किटपछि बीचमै कारोबार बन्द

काठमाडौं, मंसिर २१ । सेयर बजारको परिसूचक नेप्से आइतबार १२३ अंकले घटेको छ।

२ बजेर १३ मिनेट जाँदा नै नेप्से ६ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको छ। सर्किट ब्रेकपछि आजका लागि बीचमै कारोबार बन्द भएको छ। आजको कारोबारपछि नेप्से १९३२ अंकमा झरेको छ।

यस दिन ७ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बिहीबारको तुलनामा कारोबार रकम पनि खुम्चिएको छ।

बैंकिङ ६४, ब्यापार १५९, होटल ८१, विकास बैंक ७६, जलविद्युत ८६, फाइनान्स १९, निर्जीवन बीमा ५६९, उत्पादन ३६२, अन्य १६४, माइक्रोफाइनान्स २२४ अंकले घटेका छन्।

अघिल्लो दिनसम्म उच्च दरले मूल्य बढेको पुनर्बीमा कम्पनीका लगानीकर्ताले यस दिन १० प्रतिशत मूल्य गुमाए।

मार्केट डेप्थ हेर्दा कम्पनीको सेयर खरिद गर्नेहरु नै छैनन् भने बिक्री गर्नेमा चाप परेको छ। सान्जेन जलविद्युत, नेपाल टेलिकमको मूल्य पनि १० प्रतिशतकै हाराहारीमै घटेको छ।

त्यस्तै हिमालय डिस्टिलरी, शिवम् सिमेन्ट, हिमालयन जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतको हाराहारीमा घटेको छ।

रिलायन्स फाइनान्सको मूल्य सबैभन्दा धेरै २।३ प्रतिशतले बढेको छ।

यस दिन पुनर्बीमा कम्पनीको नै सबैभन्दा बढी रकमको कारोबार भएको छ।

सो कम्पनीको १ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कम्पनीको मूल्य प्रतिकित्ता १५६२ मा झरेको छ।

अन्तिममा खरिद गर्ने नहुँदा १० प्रतिशत मूल्य झरेपछि बेच्न खोज्नेले बेच्न पाएका छैनन्। अन्तिममा १८ हजार कित्ता सेयर १० प्रतिशत घटेको मूल्यमा बेच्न तयार थियो, किन्नेहरु थिएनन्।

नेपाल लाइफ इन्स्योरेन्सको ४४ करोड रुपैयाँको कारोबार भएको छ। उसको सेयर मूल्य प्रतिकित्ता १७६४ मा झरेको छ। कम्पनीको मूल्य ९। ७७ प्रतिशतले घटेको हो। यस कम्पनीमा पनि बिक्री गर्नेको चाप बढेको छ।

बिक्रीमा चाप बढेको अर्को ठूलो कम्पनीको हो– नेपाल टेलिकम। कम्पनीको ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो। यो कम्पनीको मूल्य पनि केही दिनअघिसम्म उच्च दरले बढेको थियो। मूल्य आज प्रतिकित्ता ११५७ मा झरेको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत सेयर धितोमा दिइने कर्जालाई कडाई गर्ने संकेत गरेको छ। यसले पनि बजार घटाउनलाई टेवा पुगेको हो।

यसै विषयलाई लिएर आजै लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीसँग पनि भेटवार्ता गरे। हाल पछिल्लो १२० दिनको औसत बजार मूल्यमा ७० प्रतिशतसम्म सेयर धितोमा ऋण दिन पाउने व्यवस्था छ।

त्यस्तै ब्रोकरको कमिसनप्रति पनि लगानीकर्ता सन्तुष्ट छैनन्। हाल सेयर खरिद वा बिक्री गर्नेले ब्रोकरलाई ०।४ देखि ०।६ प्रतिशतसम्म कमिसन दिँदै आएका छन।

केही दिनअघि मात्रै लगानीकर्ताले कमिसन घटाउनुपर्ने भन्दै धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाउन गएका छन्। तर बोर्डले अहिले नै कमिसन नघट्ने तर घटाउन पहल गरिने आश्वासन दिएको थियो।

प्रकाशित मिति : २०७७ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *