काठमाडौँ,मंसिर १८ । नेपाल तरूण दलले वरिष्ठ नेतामाथि दुर्व्यवहार भएको भन्दै देशैभर प्रदर्शन गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ।
अध्यक्ष जितजंग बस्नेतले जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै विरोध गर्न भनेका छन्।
‘हाम्रा वरिष्ठ नेता साथै नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यवाहक सभापतिलाई नियन्त्रण र दुर्व्यवहार गरेको विरोधमा सम्पूर्ण जिल्लामा सशक्त कार्यक्रमहरु संचालन गर्न तरूण दल केन्द्रिय समिति सबै जिल्ला समितिहरुलाई यो परिपत्र मार्फत निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
बुधबार तनहुँमा पुल उद्घाटन गर्नुअघि नेकपा कार्यकर्ताले विरोध गरेका थिए। पाँच जना नेकपाका स्थानीय कार्यकर्ता पनि पक्राउ परेका थिए।
नेकपा र कांग्रेसबीच झडप हुन सक्ने भन्दै प्रशासनले साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो।
नेकपाले संघीय सांसद कृष्णकुमार श्रेष्ठ किसानबाट पुल उद्घाटन गर्नुपर्ने बताइरहेको छ।
यो पुल २०७३ सालमा निर्माण सुरू भएर ०७५ सालमा निर्माण सकिएको थियो। निर्माण सकिएको दुई वर्षसम्म पुल उद्घाटन भएको थिएन।