
दाङ, मंसिर ६ । नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल लुम्बिनीमा पर्यटकहरु आउन थालेका छन् ।
कोरोना भाइरसको महामारीका कारण ८ महिना लामो बन्द पछि मंसिर ३ गते लुम्बिनी क्षेत्र खुला गरिएको हो । लुम्बिनी विकास कोषले चैतदेखि लुम्बिनी क्षेत्र बन्द गरेको थियो ।
अन्य सबै ठाउँहरु खुला गरिएको भएपनि लुम्बिनीको प्रमुख मायादेवी मन्दिर प्रवेशमा भने अझैं रोक लगाइएको छ ।
मन्दिर परिसरका अशोक स्तम्भ, पोखरी र बगैचा भने खुला गरिएका छन् ।
मन्दिर प्रवेशमा रोक लगाइएको भएपनि लुम्बिनी विकास कोषले प्रवेश शुल्क भने लिने गरेको छ । मन्दिरको मुल गेटमै ताला लगाइएको छ । त्यसैले लुम्बिनी पुग्ने पर्यटकहरुले अझैं मन्दिर भित्र प्रवेश गर्न पाएका छैनन् । उनीहरु बाहिरै बाट हेरेर तथा घुमेर चित्त बुझाउन बाध्य छन् ।
प्रकाशित मिति : २०७७ मङ्सिर ६ गते शनिवार
