काठमाडौं,असोज ७ । मूलधारका राष्ट्रिय न्यूज मिडिया संस्थाहरूले संचार उद्योगको व्यवसायिक हक हितका लागि मिडिया अलाइन्स नेपाल स्थापना गरेका छन्।
राजधानीमा बुधबार एक समारोहबीच उक्त अलाइन्सको घोषणा गरिएको हो। अलाइन्सको अध्यक्षमा एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज कर्णिकार रहेका छन्।
सल्लाहकारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालिका अध्यक्ष विनोद ज्ञवाली रहेका छन्।
अलाइन्सको उपाध्यक्षमा राजधानी न्यूज पब्लिकेशन प्रालिका महेन्द्र शेरचन र माउन्टेन टेलिभिजनका अध्यक्ष राजु कँडेल रहेका छन् भने महासचिवमा इमेज च्यानलका सिइओ लक्ष्मण हुँमागाइ र कोषाध्यक्षमा इप्रेशन पब्लिकेशन्स तथा मिडिया प्रालिका अध्यक्ष उज्जवल शर्मा रहेका छन्।
कार्यसमितिको सदस्यमा रिपब्लिका मिडियाका सिइओ समृद्धि ज्ञवाली, प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला र एपीवान टेलिभिजनका उपाध्यक्ष राजेन्द्र शाक्य रहेका छन्।
घोषणा समारोहमा अध्यक्ष कर्णिकारले कुनै राजनीतिक मिसन वा उद्देश्यले प्रेरित नभइ विशुद्ध व्यवसायिक हक हितका लागि अलाइन्स गठन भएको बताए। मिडिया उद्योगको उत्थानका लागि व्यवसायिक रुपमा काम गर्ने बताए।
अलाइन्सका सल्लाहकार तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले राष्ट्रियता र लोकतन्त्रप्रति प्रतिबद्ध भएर काम गर्ने बताए। उनले भने, ुयो अलाइन्सको पहिलो सर्त नै लोकतन्त्र र राष्ट्रियता हो।
थापाले कोरोना माहामारीलगायतका कारणले मिडिया यतिबेला संकटमा रहेको बताउँदै मिडियालाई संकटबाट जोगाउन राज्यले पहल गर्नुपर्ने सुझाव समेत दिए।
संचार क्षेत्रलाई निश्पक्ष, तटस्थ र उत्तरदायी बनाउँदै संचार क्षेत्रका लगानीकर्ताको हकहितको संरक्षण गर्नुलाई अलाइन्सको मु्ख्य उद्देश्यका रुपमा राखिएको छ।