तुलसीपुर ,असोज १ । सरकारले ६ महिना पछि विहीवारदेखि लामो दुरीका बस सञ्चलन गरेको छ ।यति लामो समयपछि लामो दुरीका बसहरु पहिलो पटक सञ्चालनमा आएपनि यात्रुहरु भने अघिपछि जस्तो आएको देखिएन । त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका डायल इञ्चार्ज दिन शाहले विहीवार दूईवटा बस मात्रै दाङदेखि काठमाडौंका लागि छुटेको फरककोणलाई बताए ।
‘आज हाम्रो दाङबाट दूईवटा बस मात्रै काठमाडौंका लागि पठाएका छौं,’ शाहले भने ‘त्यो बाहेक सल्यानमा थप एउटा बस गएको छ ।’ अन्य स्थानका यात्रुहरु नआएको हुँदा बस नपठाएको शाहले जानकारी दिए ।सामान्ने अवस्थामा दाङ काठमाडौं सबै गरि झन्डै ३० वटा जति बसहरु दैनिक रुपमा जाने चल्ने गर्दथे ।
कोरोना भाइरसको कहरवाट जोगाउन भन्दै सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन सुरु गरेको थियो । त्यो दिनदेखि नेपालमा लामोदुरीका सवारी साधन सञ्चालनमा आउन सकेका थिएनन् । असोज १ गते विश्वकर्मा बाबाको पूजाको दिनको अवसर पारेर लामो दुरीको सवारी खोलिएपनि यात्रु भने अपेक्षा गरे अनुसार नआएको पाइएको छ ।