२०८१ चैत्र ६ गते बुधवार

शिक्षा क्षेत्रमा कोभिड–१९ले शिक्षामा अपुरणिय क्षति हुन सक्ने विज्ञहरुको भनाई

तुफान श्रेष्ठ,
तुलसीपुर, भदौ २७ ।कोरोना भाइरसका कारण शिक्षा क्षेत्रमा अपुरणिय क्षति हुन सक्ने खतरा विभिन्न क्षेत्रका सरोकारवालाहरुले औंल्याएका छन् । लामो समय विद्यालय बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका सिकाई उपलव्धि गुम्न सक्ने र बीचमै पढाई छाड्ने दर बढ्ने खतरा रहेको चिन्ता जाहेर गरेका छन् ।
रोटरी क्लव अफ बुटवलको आयोजना र रिजन – ५ अन्तर्गतका रोटरी र रोट्रयाक्ट क्लवहरुको सहआयोजनामा शनिवार भएको शिक्षा क्षेत्रमा कोभिड–१९ को प्रभाव र अवको अभ्यास विषयक भर्चुअल अन्तक्रियाका सहभागीले त्यस्तो चिन्ता जाहेर गरेका हुन ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका डिष्ट्रिक गभर्नर राजिव पोखरेलले कोरोना महामारीले शिक्षा क्षेत्रमा अन्यौलतांँगै चुनौती थपिदिएको बताए । लामो समय विद्यालय जान नपाउँदा बालबालिकामा मनोवैज्ञानिक असर परेको, पढ्ने बानि छुटेको तथा बीचमै पढाई छाड्ने दर बढ्न सक्ने खतरा रहेको उनले चिन्ता जाहेर गरे । शहरी क्षेत्रमा भर्चुअल माध्यमबाट शिक्षण सिकाई सहज मानिएपनि ग्रामिण क्षेत्रमा त्यो निकै कठिन रहेको र अधिकांश विद्यार्थी प्रविधिको पहुँचबाट बाहिर रहेको उनले बताए ।

शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिपक शर्माले सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई जोड दिंदै आगामी असोज १ गतेदेखि लागू हुने गरी सिकाई सहजिकरण निर्देशिका ल्याएको जानकारी दिए । विज्ञहरुको सुझावका आधारमा ३० प्रतिशत पाठ्यक्रम घटाएर भएपनि शैक्षिक सत्र खेर जान नदिइने उनले बताए । ‘नियमित पठनपाठन सुरु नभएसम्म वैकल्पिक पठनपाठनमा जानुको विकल्प छैन,’ उनले भने ‘ कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नियमित पठनपाठन सुरु गर्न सकिने अवस्था पनि छैन ।’

प्रवक्ता शर्माले प्रविधिको पहुँच नपुगेका विद्यार्थीलाई पनि पठनपाठनमा सहभागी गराउने तरिका र विकल्पबारे मन्त्रालयले गृहकार्य गरिरहेको बताए ।त्यस्तै नीजि तथा आवासिय विद्यालयको संगठन प्याब्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा संसारकर्मी राजेन्द्र बानियाँले विद्यालय बन्द हुँदा बालबालिकाले बीचमै पढाई छाड्न सक्ने खतरा औंल्याए । सिकाई निर्देशिका ल्याउन मन्त्रालयले छ महिना लगाएको भन्दै उनले शिक्षामा नीजि क्षेत्रको योगदानलाई पनि नबिर्सन आग्रह गरे ।

अहिले देशभरका दुई हजार भन्दा बढी निजी विद्यालय बन्द रहेको र त्यहाँ कार्यरत मध्ये ४० हजार शिक्षक कर्मचारीले रोजगारी गुमाउन सक्ने संभावना रहेको उनले चिन्ता जाहेर गरे ।त्यत्तै उनले २० प्रतिशत विद्यार्थीले नीजि विद्यालय छोड्न सक्ने संभावना पनि औंल्याए ।

उनले सिकाई प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने बेला आएको तर्क गरे । रोटरी नेपाल साक्षरता अभियान आरआई डिष्ट्रिक ३२९२ नेपाल–भुटानका चेअर एवं पूर्व डिष्ट्रिक गभर्नर तिर्थमान शाक्यले शिक्षकहरुलाई ईलर्निङ प्रति उत्प्रेरणा जगाउने गरी रोटरीले अभियान चलाएको बताए ।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *