काठमाडौं,भदौ २६ । नक्कली प्रेस कार्ड बनाउने व्यक्तिलाई बागबजारबाट पक्राउ गरेका अपराध महाशाखाका दुई जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ ।
नक्कली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा दुई जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको हो ।
कन्ट्याक्ट ट्रेसिङकै क्रममा लैनचौर, बौद्ध र गौशाला वृत्तमा रहेको अपराध महाशाखा युनिटका थप पाँच जना प्रहरीलाई पनि कोरोना संक्रमण भएको पाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
लक्षण देखिएका केही संक्रमितलाई नेपाल प्रहरीको अस्पतालमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् ।
पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंको बागबजारस्थित कालिका प्रिन्टिङका ३ जनालाई यही भदौ २२ गते पक्राउ गरेको थियो ।
प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार