लिलाधर वली
दाङ, मंसिर १६ ।
जिल्लामा नदीजन्य वस्तुको अवैध रुपमा उत्खनन् हुने गरेको छ । विशेष गरेर राति र बिहान हुस्सु लागेको समयमा नदीजन्य पदार्थको अवैध उत्खनन् हुने गरेको स्थानीयले जनाएका छन् । नियमित अनुगमनको अभावमा अवैध काम बढेको हो । जिल्ला समन्वय समितिले पनि प्रभावकारी रुपमा अनुगमन गर्न सकेको छैन । नदीजन्य पदार्थको संरक्षणको अधिकार स्थानीयतहलाई नै संविधानले दिएको छ ।
तर त्यो कामपनि स्थानीयतहले गरेका छैनन् । अवैध उत्खनन् रोक्न प्रहरीले भने कडाई गरेको दाबी गरेको छ । अवैध नदीजन्य वस्तुको उत्खनन् गरेको आरोपमा धेरै सवारी साधनहरु पक्राउ परेका छन् । जिल्ला समन्वय समिति दाङका अनुसार अवैध नदीजन्य पदार्थ उत्खनन् गरेको आरोपमा दाङमा प्रहरी साढे सात महिनामा एक सय ७३ सवारी साधन पक्राउ गरेको छ ।
अवैध नदीजन्य पदार्थ उत्खनन् गरेको सवारी साधन पक्राउ गर्ने प्रहरीहरुले प्रोत्साहन स्वरुप २० प्रतिशत रकम पाउने गरेका छन् । त्यो लोभमा पनि प्रहरीले अनावश्यक दुःख दिने समेत गरेको व्यवसायीको आरोप छ ।
नदीजन्य वस्तु उत्खनन् प्रतिबन्ध गरेका स्थानबाट नदीजन्य वस्तु उत्खनन् गरेको आरोपमा प्रहरीले जेठ महिनादेखि मंसिरको १२ गतेसम्म टेक्टर, टिप्पर र जेसीबी पक्राउ गरेको हो । पक्राउ पर्नेमा सबैभन्दा धेरै टेक्टर छन् । नदीजन्य वस्तुको उत्खनन्मा रोक लगाएको स्थानबाट उत्खनन् गर्दै गर्दा प्रहरीले अधिकांश सवारीसाधनहरु पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्लामा अवैध नदीजन्य वस्तुको उत्खनन् तथा ओसार पसारमा संलग्न भएको आरोपमा एक सय ६२ वटा टेक्टरहरु रहेको जिल्ला समन्वय समिति दाङका नासु जीवराज शर्माले बताए ।
त्यस्तै चारवटा जेसीबी र ६ वटा टिप्परहरु पक्राउ परेको नासु शर्माले बताए ।
अवैध नदीजन्य पदार्थको उत्खनन् गरेको आरोपमा जिल्लाका विभिन्न स्थानहरुमा प्रहरीले पक्राउ गर्ने र पक्राउ परेका जेसीबी, टिप्पर र टेक्टरहरु जिल्ला समन्वय समितिमा पठाउने गरेको छ । नदीजन्य वस्तु निकासी प्रतिवन्ध गरेको स्थानबाट उत्खनन् गर्ने सवारी साधनहरुलाई पक्राउ गरी राजस्व तिरेपछि छोड्ने गर्दै आएको छ ।
जिल्ला समन्वय समितिका अनुसार कतिपय सवारी साधनहरु राजस्व तिरेर छुट्ने र पुनः पक्राउ पर्ने गरेका छन् । तर व्यवसायीले भने राज्यको तोकेकै स्थानबाट नदीजन्य वस्तुको उत्खनन गरेपनि प्रहरीले दुःख दिने गरेको बताएका छन् । राज्यले तोकेकै स्थान वा स्थानीयबासीको आग्रहमै नदीजन्य वस्तुको उत्खनन् गर्दासमेत प्रहरीले टेक्टर, टिप्परहरु पक्रने गरेको व्यवसायीहरुले बताउने गरेका छन् ।
३८ लाख राजस्व
अवैध नदीजन्य वस्तुको उत्खनन् गरेको आरोपमा पक्राउ परेका सवारी साधनबाट जिल्ला समन्वय समितिले साढे सात महिनाको विचमा ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नासु शर्माका अनुसार जेसीबी, टिप्पर र टेक्टरबाट ३८ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
जसमा सबैभन्दा धेरै टेक्टरहरुबाट ३२ लाख ४० हजार, जेसीबीबाट तीन लाख र टिप्परहरुबाट तीन लाख गरी जम्मा ३८ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ । उनका अनुसार यो राजस्व गत वर्षको तुलनामा धेरै भएको बताए । यो बर्ष नदीजन्य पदार्थ उत्खनन्को जिम्मा स्थानीयतहलाई दिएपनि स्थानीयतहले समयमै नदीजन्य पदार्थको उत्खनन् नगर्दा धेरै सवारी साधनहरु पक्राउ परेका हुन । जिल्ला समन्वयका नासु शर्माका अनुसार अधिकांश टेक्टरहरु ग्वारखोला, राप्ती नदी, बबई नदी, बौलाखोला, सिस्नेखोला लगायतका खोलाहरुबाट पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ गरेपछि राजस्व तिर्नका लागि जिल्ला समन्वय समितिमा पठाउने गरेको छ । अवैध नदीजन्य पदार्थ उत्खनन् गरेको सवारी साधन पक्राउ गर्ने प्रहरीहरुले प्रोत्साहन स्वरुप २० प्रतिशत रकम पाउने गरेका छन् । त्यो लोभमा पनि प्रहरीले अनावश्यक दुःख दिने समेत गरेको व्यवसायीको आरोप छ ।