मनिला, जेठ २८ । फिलिपिन्समा कोरोना भाइरसविरूद्धको भ्याक्सिन नबनेसम्म बच्चाहरू विद्यालय जान नपाउने भएका छन्। सोमबार फिलिपिन्सका शिक्षा मन्त्री लियोनोर ब्रियोनले कोरोनाबिरुद्धको भ्याक्सिन नबनेसम्म विद्यार्थीहरूलाई विद्यालयमा नपठाउने निर्णय भएको बताएका हुन्। विद्यार्थीको शिक्षालाई निरन्तरता दिन अगष्टको अन्तिमदेखि अनलाइन वा टिभीबाट कक्षा सञ्चालन हुने पनि उनले जानकारी दिए।
वैज्ञानिकहरूले भ्याक्सिन बनाउन लागि परेका छन्। उनीहरूका अनुसार भ्याक्सिन बन्न कम्तिमा पनि एकदेखि दुई वर्षसम्म लाग्न सक्नेछ। दैनिक एक सय बढीमा संक्रमित थपिए पनि फिलिपिन्स सरकारले दुई महिनादेखिको लकडाउन अहिले खुकुलो बनाउन थालेको छ।
लकडाउनले गर्दा त्यहाँ संक्रमितको संख्या बढ्नमा मद्दत पुर्याए पनि अर्थतन्त्रमा भारी असर परेको छ। कैयन नागरिकले आफ्नो जागिर समेत गुमाएका छन्। मंगलबारसम्म फिलिपिन्समा २२ हजार ९ सय ९२ संक्रमित छन् भने एक हजार १७ जनाले ज्यान गुमाएका छन्।
विश्वभरिका सरकार महामारीबीच विद्यालयहरू कसरी सञ्चालनमा ल्याउने भन्नेबारे अन्यौलमा छन्। त्यसका बावजुद् केही राष्ट्रका विद्यालयहरूले कक्षा सञ्चालन गरिसकेका छन्।